पालैपालो नेतृत्व हुँदैन : नेपाल

madhav_nepal copyकाठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पालैपालो नेतृत्व प्रणाली कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन् । पालैपालो प्रणालीमा जाँदा पार्टी बूढो र रोगीका हातमा पुगेर सिद्धिने पनि जीकिर नेता नेपालको छ ।
‘आलोपालोका आधारमा भन्दा योग्यता र क्षमताका आधारमा नेता चुनिनु पर्छ,’ ‘सिंहदरबारमा संसदीय दलको नेताका लागि मतदान गरेपछि नेता नेपालले भने, ‘पालोपालो नेतृत्त्व फेर्ने कुरा हुँदैन, पार्टीको नेतृत्व लिने कुुरा योग्यता, क्षमतासँग जोडिएको विषय हो ।’
उनले पार्टीको नेतृत्व लिनेले जनतामा रहेको अपेक्षा पनि पूरा गर्न सक्नु पर्ने दाबी गरे । नेपालको भनाइ उपाध्यक्ष वामदेव र नेता केपी शर्मा ओलीप्रति लक्षित थियो ।
पालैपालोको सिद्धान्तले रुसमा कम्युनिस्ट पार्टी सिद्धिएको तर्क गर्दै उनले नेपालमा पनि एमालेलाई सिध्याउने खेल भइरहेको प्रतिक्रिया दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीले समेत लागू गर्न नसकेको पालो प्रणाली नेपालमा लागू गर्न सम्भव नभएको नेता नेपालको भनाइ थियो । उनले संसदीय दलको नेताका लागि पार्टीले नयाँ अभ्यासको सुरु गरेको भन्दै नेपालले चुनावमा जाँदैमा पार्टीमा गुट उपगुट नबढ्ने बताए ।

प्रतिक्रिया