काठमाडौं, माघ २० । सुगम ग्यासका सञ्चालक शिव घिमिरे पक्राउ परेका छन् । उनको छोरा सुगमको साथबाट बरामद भएको पेस्तोलको मुद्दामा उनलाई महानगरीय प्रहरी वृत महाराजगन्जले पक्राउ गरेको हो ।
८ माघमा वृतले धुम्बाराहीबाट एउटा रिभल्बरसहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सन्नी गुरुङले हतियार सुगमका बाबुको भएको बयान दिएका थिए । प्रहरीले सुगमसहित बानेश्वरका सन्नी गुरुङ, विशाल पुन, तेजेन श्रेष्ठ र दोसन ओलीलाई पक्राउ गरेको थियो ।
उनीहरूले शिव घिमिरेको पनि नाम लिएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको बताइएको छ । १२ दिनअघि पक्राउ परेका उनका छोरा सुगम घिमिरेका एक जना साथीले हतियार शिव घिमिरेको भएको बयान दिएपछि सोधपुछका लागि घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टेकुबाट त्रिपुरेश्वर आइरहेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको सुगम ग्यास पूर्वाञ्चलको इटहरीमा छ ।
प्रतिक्रिया