बाराकोटी घुस लिँदालिँदै पक्राउ

काठमाडौं १९ माघ । तपाईंलाई अति गोप्य तवरमा घुस लिएको छु भन्ने लाग्न सक्छ । तर, तपाईंलाई घुस दिन आउनेहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खटाएका व्यक्तिहरू पनि हुन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब आफैँले घुस दिएर त्यसपछि अभियुक्त पक्रने नयाँ अभियानसमेत सुरु गरेको छ । पीडितको उजुरीको आधारमा घुस दिएर पठाउने र सोही प्रमाणका आधारमा पक्राउ गर्ने अख्तियारले सुरु गरेको छ । अख्तियारको नयाँ तरिकाको सिकार भएका छन्, उच्च माध्यामिक शिक्षा परिषद्का महाशाखा प्रमुख देवीप्रसाद बाराकोटी । आइतबार आयोगकै घुसको फन्दामा उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुरको सम्बन्धन महाशाखा प्रमुख बाराकोटी परेका हुन् ।

आयोगले धनुषा जिल्लाको ढिल्सा बसेलास्थित सरस्वती माध्यामिक विद्यालयको कक्षा ११ र १२ सञ्चालनका लागि संजयकुमार झासँग घुस लिँदै गर्दा बाराकोटी ४० हजार रुपियाँसहित पक्राउ परे ।
बाराकोटीले उच्च शिक्षाको सम्बन्धनका लागि घुस लिँदै गर्दा दिउँसो साढे तीन बजे कार्यालयमा पक्राउ गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । सहसचिवसमेत रहेका बाराकोटीलाई पक्राउ गर्न आयोगले नै ४० हजार रुपियाँ दिएर झालाई परिषद्मा पठाएको थियो । बाराकोटीलाई पक्राउ गर्न झासँगै अख्तियारको टोली पनि परिषद् पुगेको थियो ।
अख्तियार प्रवक्ता सापकोटाले बाराकोटीले घुस मागेपछि पीडितको उजुरीको आधारमा घुसको रकम दिएर पीडितलाई नै पठाएको जानकारी दिए । ‘बाराकोटीले घुस मागेको उजुरी अख्तियारमा पर्‍यो,’ उनले भने, ‘ हामीले नै सम्बन्धनका लागि ४० हजार दिएर पठाएका थियौँ । अनि ४० हजार लिने क्रममा रंगेहात पक्राउ गर्‍यौँ ।’ पहिले बाराकोटीले ५० हजार मागे पनि विद्यालयले सम्बन्धनका लागि ४० हजारमा कुरा मिलाएको थिए । ‘सम्बन्धनका लागि सुरुमा ५० हजार मागेको थिए । तर, पछि ४० हजारमा कुरा मिल्यो । अनि हामीले ४० हजार दिएर पठायौँ,’ सापकोटाले भने । आयोगले बाराकोटीलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
बाराकोटी यसअघि पनि थुप्रैपटक विवादमा मुछिएका थिए । उनले यसअघि परिषद्को परीक्षा नियन्त्रक हँुदा उत्तरपुस्तिका छपाइमा अनियमितता गरेको आरोपमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया