स्वामित्व ग्रहणको विरोधमा राप्रपा नेपाल

काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनबाट चौथो दलका रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पहिलोबाट प्राप्त उपलब्धीलाई अहिलेको संविधानसभाले स्वामित्व ग्रहण गर्न नहुने अडान राखेको छ ।
सो पार्टीले संवैधानिक, राजनीतिक एवं नैतिक कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने निस्कर्ष निकालेको छ । गत मंगलवारदेखि शुरु भएको राप्रपा नेपालको राष्ट्रिय सम्मेलनमा १२ बुँदे घोषणापत्र जारी गर्दै सो पार्टीले त्यस्तो धारणा सार्वजनिक गरेको हो । सो पार्टीले आफ्नो दल सरकारमा सहभागी नहुने र संविधान निर्माणमा रचनात्मक सहयोग गर्ने पनि बताएको छ ।
सम्मेलन समापनका अवसरमा सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक वर्षभित्र स्थानीय निकायको निर्वाचन, सर्वधर्म सद्भाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहतिको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली एवं उदार आर्थिक नीतिको पक्षमा आफ्नो दल रहेको जिकिर गरे ।
राप्रपा नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा विदेशी राजदूतहरूले अप्रत्यक्षरूपमा समानान्तर सरकार सञ्चालन गरेको आरोप लगाइएको छ । सम्मेलनमा ‘वर्तमान परिस्थिति र राप्रपा नेपालको भावी कार्यदिशा’ विषयमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा विषयमा सो कुरा उल्लेख छ ।
विदेशीले नेपालमा समानान्तर सरकार सञ्चालन गरेको ठहर पनि राप्रपा नेपालले गरेको छ । भारत र युरोपियन युनियनसँग आवद्ध देशका राजदूतहरूले नेपालमा व्यापक चलखेल गरेको आरोप पनि राप्रपा नेपालले लगाएको छ । विदेशी राजदूतहरूले राजनीतिक अस्थिरता र कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै समानान्तर सरकार सञ्चालन गरेको दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया