“नवौं महाधिवेशन एकताको हुन्छ”

काठमाडौ । नेकपा एमालेका शीर्ष नेताहरुले आगामी महाधिवेशनपछि पार्टी थप एकताबद्ध हुने बताएका छन् । संविधानसभा सदस्यको सम्मानमा अनेरास्ववियुले मंगलवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा एमालेका शीर्ष नेताहरुले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने धारणा राखे ।
आगामी महाधिवेशनले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन भुमिका खेल्ने विश्वास पनि उनीहरुको छ । कार्यक्रममा एमालेका प्रमुख ४ नेताले नवौ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दावी गरे ।
एमाले अध्यक्ष झलनाथ खनालले पार्टीलाई बहुमत दिलाउनका लागि अवको महाधिवेशन फलदायी हुने धारणा राखे । उनले देश र जनताले पनि एमालेमा एकतोको माग गरेको जीकिर गरे ।
खनालले आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफैंले पहल गर्ने घोषणा पनि गरे ।‘आगामी महाधिवेशन एकताको हुन्छ । यसमा अध्यक्षको हैसियतले म पहल गर्दछु’ उनले भने–‘ जे–जे त्याग र तपश्या गर्नुपर्दछ त्यो सवै गरेर महाधिवेशन एकताको हुन्छ ।’
अध्यक्ष खनालले पार्टीलाई एकतावद्ध बनाउन सवैको साथ र समर्थन आवश्यक भएको बताए । पार्टी एकतावद्ध भएकै कारण गत संविधानसभा निर्वाचनमा पार्टी दोस्रो ठुलो दल बन्न सफल भएको दावी पनि उनले गरे । तर अझै पार्टी थप एकताबद्ध हुन नसकेको र केही बाधा ब्यवधान रहेको भने उनले स्वीकार गरे ।
‘आन्तरिक व्यवस्थापनले एकताबद्ध हुनका लागि जुन कुरा सच्चाउनुपर्ने थियो । त्यो हुन सकेको छैन’ खनालले भने–‘अवको महाधिवेशनमा त्यसलाई सच्चाउन आवश्यक छ ।’
कार्यक्रममा अध्यक्ष खनालले एक बर्षभित्र संविधान बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।
अध्यक्ष खनालले छिटै सरकार गठन हुने पनि उल्लेख गरे । उनले संभव भएसम्म सहमतिमा नभए बहुमतिय प्रक्रियाबाट भएपनि छिटै सरकार गठन हुने दावी गरे ।
बरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो संविधान सभामा देखिएको उपलब्धी पार्टीको एकताले संभव भएको धारणा राखे । उनले स्थानिय चुनाव, संविधान निर्माण र महाधिवेशन गर्नका लागि पार्टी एकतावद्ध हुने धारणा राखे । ‘तीनै चिज गर्नका लागि चुनौति छ । त्यसैले अवको महाधिवेशन एकतावद्ध रुपमा सम्पन्न गर्न अठोट लिएका छौ’ नेपालले भने ।
उनले माओवादीको उग्रवामपन्थी र मधेशवादी दलको हठको कारण पहिलो संविधानसभाबाट संविधान नबनेको दावी गरे । नेता नेपालले यस पटक समयमै संविधान बन्ने जीकिर गरे । ‘हाम्रो पार्टी महत्वपूर्ण स्थानमा रहेको छ । तपाईहरु ढुक्क हुनुहोस् । तपाईले दिएको कलम र डायरी खेर जादैन’ उनले भने–‘समयमा नै संविधान बन्छ ।’
कार्यक्रममा अर्का नेता केपी शर्मा ओलीले आजको आवश्यकतालाई पूर्ति गर्न एकताको विकल्प नभएको बताए । ओलीले देशको आवश्यकताले पनि एमाले एकतावद्ध भएर जाने बताए ।
उनले जनतालाई एकबर्ष भित्रमा लोकतान्त्रिक संविधान दिने प्रतिवद्धता जनाए । माओवादीले राज्यका अंग भताभुङग पारेको आरोप लगाउदै नेता ओलिले अव चाडै नै संविधानिक अंग पुरा हुने जानकारी गराए ।
कार्यक्रममा उपाध्यक्ष बामदेव गौतमले आगामी महाविधेशन एकताको हुने र सो महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दावी समेत गरे । उनले महाधिवेशनले विगतका गुटबन्दी तोड्ने दावी समेत गरे । ‘महाविधेशनले गुटबन्दीलाई तोड्दै सर्वसम्मत नेतृत्व चयन गर्ने छ’ गौतमले भने–‘मेरो त्यो धेरै अनुभवले पनि सिकाएको छ । गुटबन्धीले पार्टीलाई कहा पुर्‍याउछ भन्ने थाहा छ ।’
नेता गौतमले आफ सरकारमा सहभागी भएमा भ्रष्टचार र कुशासनको अन्त्य हुने धारणा राखे ।
कार्यक्रममा एमालेको तर्फबाट सभासद बनेका सवैलाई एक वर्षभित्र संविधान लेख्न ध्यानाकर्षण गराउन डायरी र कलम दिइएको थियो । पार्टी अध्यक्ष खनाल र अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले सवै सभासदलाई डायरी र कलम प्रदान गरे ।
आठौंमाजस्तै प्रतिबद्धता
चार बर्ष अगाडी नेकपा एमालेको आठौ महाधिवेशन भन्दा केही महिना पहिले देखी शीर्ष नेताहरुले पार्टीलाई थप एकताबद्ध बनाउने र पार्टीमा रहेका गुट उपगुट अन्त्य हुने दावी गरेका थिए । तर निर्वाचन नजिकिदै जाँदा पार्टीमा चरम गुटबन्दी हुन थाल्यो । पार्टीका शीर्ष नेताहरुले आ आफनै गुट र उपगुट बनाए । महाधिवेशनले झलनाथ खनाललाई अध्यक्ष बनाए पनि पार्टीमा विभिन्न गुट र उपगुट बनाउने क्रम रोकिएन । गुट र उपगुटको असर पार्टीको तल्लो तहसम्म देखा पर्‍यो ।
आठौ महाधिवेशनलाई पनि एकताको महाधिवेशन बनाउने र गुटबन्दीलाई तिनाउ नदीमा बगाउने घोषणा गर्दै चार बर्ष अगाडी बुटवलमा महाधिवेशन सम्पन्न भयो । तर त्यो महाधिवेशन पछि पार्टीमा चरण गुटबन्दी देखियो । गुटबन्दीको असर विभिन्न भातृ संगठनहरुमा र कार्यकर्ताको तल्लो तह सम्म देखिएको थियो ।

प्रतिक्रिया