एक वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धता

काठमाडौं । व्यवस्थापिका संसद्को पहिलो बैठक आइतबार नयाा बानेश्वरस्थित संविधानसभा भवनमा बसेको छ । ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले बैठकको अध्यक्षता गर्दै राष्ट्रपतिले गरेको अधिवेशन आअ्वानसम्बन्धी सूचना पढेर सुनाएपछि बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संसद्मा चार मिनेट संक्षिप्त लिखित मन्तव्य व्यक्त गरेका थिए । रेग्मीले मन्तव्यमा संविधानसभाको निर्वाचनपछि मुलुक राजनीतिक एवं संवैधानिक प्रक्रियामा आएकोमा खुशी व्यक्त गरे । रेग्मीले संविधान निर्माण गर्न र सरकार गठन गर्न सफलला मिलोस् भनेर सभासद्हरुलाई शुभकामनासमेत दिए । संविधानसभाको पहिलो बैठक बसेको चार दिनपछि बसेको व्यवस्थापिका संसद्को पहिलो बैठकमा कांग्रेस सभापति सुशील कोइराला संसदीय दलको नेतामा निर्वाचित भएकोमा ज्येष्ठ सदस्य थापाले बधाईसमेत दिएका थिए ।
बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा भएको राजनीतिक संकट अन्त्य गर्न सबै एकजुट हुनु पर्ने बताए । छिटो सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्नेमा उनको जोड थियो । एमाले अध्यक्ष झलनाथ खनालले पनि संविधान निर्माण छिटो गर्नुपर्नेमा जोड दिए । संविधान निर्माणलाई नै अर्जुनदृष्टिका रुपमा लिएर छिटोभन्दा छिटो मुलुकलाई निकास दिनुपर्नेमा खनालको जोड थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमलले संविधानसभा शान्ति सम्झौताको एउटा हिस्सा भएको दाबी गरे । उनले एक वर्षभित्र संविधान दिन सबै दल प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । राष्ट्रपति र सरकारमा मात्र ध्यान नदिएर संविधान निर्माणमा केन्द्रित भएर लाग्न पनि उनले सबै दललाई आग्रह गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणमा पार्टीले रचनात्मक भूमिका खेल्ने बताए । उनले एक–अर्कामा आरोप–प्रत्यारोप नगरी संविधान निर्माणमा केन्द्रित हुनपुर्नेमा जोड दिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संघीयताबिनाको संविधान एक दिन पनि नटिक्ने भन्दै संघीय संविधान जारी गर्नु पर्नेमा जोड दिए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका नेता सञ्जयकुमार साहले बैठकमा हिन्दी भाषामा सम्बोधन गरेका थिए । राप्रपा नेता दीपक बोहोरा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, माले महासचिव सीपी मैनाली, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायतले पनि बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया