एमालेभित्र शक्ति सन्तुलनको लबिङ तीव्र

काठमाडौं, ११ माघ । नेकपा एमालेभित्र आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयास र लबिङ सुरु भए भएको छ । पार्टीभित्रै शक्ति बाँडफाँडको लबिङ सुरु भएपछि संसदीय दलको नेता छान्ने प्रक्रियासमेत लम्बिएको छ । पार्टीको नवौँ महाधिवेशनको घोषणा भइसकेकाले महाधिवेशन केन्द्रित समीकरणको प्रयासमा शीर्ष नेताहरूले नै लबिङ सुरु गरेपछि त्यसको प्रभाव संसदीय दलको नेता चयनमा पनि देखिएको हो । शीर्ष नेताबीच शक्ति सन्तुलन मिलाउने प्रयासकै कारण संसदीय दलको नेता चयन, महाधिवेशन तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको स्थायी समितिको बैठकसमेत पटक–पटक स्थगन हुँदै आएको छ ।
करिब दुई हप्ताअघि बसेको एमाले स्थायी समिति बैठकले १० र ११ माघका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता चयनलगायतको स्थायी समिति निर्णयलाई अनुमोदन गर्ने तयारी भएको थियो । तर, बैठक तयारीका लागि बस्ने स्थायी समितिको बैठक नै बस्न नसकेपछि केन्द्रीय समिति बैठकसमेत अनिश्चित बनेको छ ।
एमालेका चार नेता अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली चारै जनाले नेतृत्वको आकांक्षा देखाउँदै आएका छन् । उनीहरू चारै जनाले पार्टीको महाधिवेशन केन्द्रित समीकरणसमेत संसदीय दलको नेता बन्ने फोरमलाई नै लिएपछि थप समस्या भएको बुझिएको छ । ‘अहिले अन्य पार्टीमा जस्तै एमालेभित्र पनि शक्तिबाँडफाँडको प्रयास सुरु भएको छ,’ एमाले सचिव शंकर पोख्रेलले भने, ‘यी र यस्तै प्रयासका कारण नेताहरूको बैठकप्रति पनि रुची कम भएको छ ।’ त्यसो त पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमा समेत स्थायी समितिको बैठक पटक–पटक स्थगन भएकोप्रति व्यंग्य गर्दै भनेका छन्, ‘बैठकप्रतिको नेताहरूको अरूची हो या अन्य कुनै कारण बुझ्नै गाह्रो भो । बैठक टारेर समस्या टर्ने होइन, अनि चुनौतीहरूबाट भाग्न सकिने पनि होइन । यस्तो कुरा अनुभवी र भुक्तभोगीहरूले थाहा नपाउने कुरा त झनै होइन ।’ उनको यो व्यंग्यात्मक भनाइले पनि नेताहरू शक्ति बाँडफाँडको लबिङमा कति व्यस्त बनेका छन् भन्ने तथ्यलाई थप पुष्टी गर्छ ।
संविधानसभामा पार्टीको पोजिसन बलियो भएकाले यो अवस्थामा अध्यक्ष खनाल दलको नेता छाड्ने मनस्थितिमा छैनन् । वरिष्ठ नेता नेपाल पनि यो फोरमलाई महाधिवेशन केन्द्रित गर्ने प्रयासमा लागेका छन् । एमालेका एक नेताका अनुसार नेपालले महाधिवेशन केन्द्रित समीकरण बन्ने अवस्थामा दलको नेता अध्यक्षलाई बनाउन लाग्ने छन् । सार्वजनिक रूपमै आफू राष्ट्रपति, प्रधानमन्त्री वा संसदीय दलको नेता हुन इच्छुक नरहेको बताउँदै आएका नेपाल महाधिवेशनमा खनालसँग समीकरण गर्ने लविङमा लागेका छन् ।
आगामी महाधिवेशनमा अध्यक्षको दाबी गरिरहेका अर्का नेता ओली पनि त्यही ध्याउन्नमा छन् । महाधिवेशनमा आफूलाई सघाउने सर्तमा ओलीले खनाल र उपाध्यक्ष गौतम जोसँग समीकरण गर्न सक्ने र त्यसैलाई संसदीय दलको नेतामा सघाउने सम्भावना रहेको ती नेताको भनाइ छ । खनाल र गौतमसँग महाधिवेशनमा अध्यक्ष हुने विषयमा कुरा नमिले ओली आफैँ संसदीय दलको नेतामा अघि सर्ने बुझिएको छ । एमालेको संसदीय दलमा चुनाव भएको र पार्टी प्रमुखबाहेक अन्य नेता भएको इतिहास छैन । ०४८ र ०५१ मा मनमोहन अधिकारी, ०५६ मा माधवकुमार नेपाल र ०६४ मा झलनाथ खनाल संसदीय दलका नेता बनेका थिए । यो इतिहासलाई हेर्ने हो भने पनि खनाल संसदीय दलको नेता बन्ने सम्भावना देखिन्छ । अघिल्लो पटक ओलीसँग चुनाव लडेर अध्यक्ष बनेका खनाल यसपटक पुन: अध्यक्ष लड्ने मनस्थितिमा नरहेको उनी निकटहरूले बताउँदै आएका छन् । आगामी दिनमा नेपाल र ओलीबीच नै चुनावी प्रतिष्पर्धा हुने देखिएकाले नेपाल खनालसँगको समिकरण बनाउँने लविङमा लागेका छन् । यता ओली गौतमलाई साथमा लिन सके आफु बलियो हुने भएकाले संसदीय दलको नेता गौतमलाई बनाउँन लागि परेको देखिन्छ ।
एमालेले अहिले आन्तरिक सहमतिका लागि नेताहरूबीच पदको भागभण्डा मिलाउँनका लागि पनि राष्ट्रपति उपराष्टपतिलगाएतको निर्वाचनको मुद्धा उठाउँदै आएको छ । एमालेका ४ नेतालाई व्यवस्थापन गर्न पनि राष्ट्रपति, उप–राष्ट्रपतिको निर्वाचन हुनुपर्ने हुन्छ । संसदीय दलको नेता, आगामी पार्टीको अध्यक्ष, राष्ट्रपति र सरकारको नेतृत्व गरेर जाने बिषयमा नेपाल, खनाल, ओली र गौतमलाई व्यवस्थापन गर्न सकिने एमालेको ठहर छ ।

प्रतिक्रिया