एमाओवादी बैठक स्थगित

काठमाडौं, १०, माघ । आठ दिनदेखि जारी एमाओवादीको केन्द्रीय कमिटी बैठक १३ माघसम्मलाई स्थगन भएको छ । पार्टी रूपान्तरणको कार्ययोजना बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिँदै बैठक स्थगन भएको एक केन्द्रीय सदस्यले बताए । एमाओवादीले राजनीतिक प्रतिवेदनमाथिको छलफल लम्बिने भएपछि बैठक नै स्थगित गरेर रूपान्तरण र संगठनबारे ठोस प्रस्ताव बनाउने जिम्मा दाहाललाई दिएको ती नेताको भनाइ छ ।
बैठकमा करिब ९८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । एमाओवादीले रूपान्तरणको ठोस कार्यक्रम आएपछि १३ गते बस्ने बैठकले छलफल गरेर त्यसलाई पूर्णता दिने बुझिएको छ । अध्यक्ष दाहालको प्रतिवेदनमाथि धारण राख्ने सदस्यहरूले अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्दै प्रतिवेदनमा देखिएको कमी कमजोरीहरू केलाइएका थिए । बैठकमा धारणा राख्ने क्रम २ माघबाट सुरु भएको थियो । अध्यक्ष दाहालको प्रतिवेदनमा ठोस कार्यक्रम नभएको भन्दै नेताहरूले उनलाई सुझाव दिँदै आएका थिए ।
बैठकमा अध्यक्ष दाहाल पक्षीय नेताहरूले वरिष्ठ नेता डा. बाबुराम भट्टराईको कटु आलोचना गरे । एक सातादेखि जारी बैठकमा सदस्यले पार्टीलाई संकट परेको बेला अनेकौँ बखेडा झिकेर विपक्षीलाई खुसी तुल्याउने काममा नेता डा. भट्टराई लागेको आरोप लगाउँदै आफ्ना कुरा पार्टी समितिमा अनुशासित तवरले राख्न आग्रह गरे । पार्टी विधि बसाल्ने नाममा मिडियाबाजी नगर्न तथा जनवादी केन्द्रीयताको मर्म र भावनालाई आत्मसात गर्न अधिकांशले ध्यानाकर्षण गराएका थिए ।
बिहीबारको बैठकमा दाहाल पक्षधर नेता हरिबोल गजुरेल र नन्दकिशोर पुन मुख्य रूपमा डा. भट्टराईप्रति बढी आक्रमक बनेका थिए । नेतृत्त्व चाहिएकाले स्पष्टसँग पार्टी समितिमा भन्न र त्यसलाई अनुमोदन गराउन गजुरेलले चेतावनी दिए । पुनले जनयुद्ध, जनआन्दोलनको मर्म र भावनाअनुसार अगाडि बढ्न तथा विगतमा भएका कमजोरीप्रति जनतासँग माफी माग्नसमेत आग्रह गरेको स्रोत बताउँछ । बैठकमा दीनानाथ शर्मा, चन्द्रप्रकाश खनाललगायतले पनि अध्यक्ष दाहाललाई अध्यक्षबाट हटाउन नहुने धारणा राखेका थिए । नेता डा. भट्टराईले नेतृत्व फेर्न अभियानसमेत थालेपछि अध्यक्ष दाहाल पक्षधर नेताहरू उनीविरुद्ध खनिएका हुन् । केन्द्रीय समितिमा दाहाल बहुमतमा छन् ।

प्रतिक्रिया