बर्दियामा जलचराको संख्या घट्दै

suryabahadur-thapaबर्दिया, ८ माघ । बर्दिया जिल्लाका बिभिन्न ठाउँमा गरिएको अनुगमनबाट जल चराको संख्या घटदै गएको पाईएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति पथ प्रदर्शक संघ, प्रकृति संरक्षण क्लव, पर्या पर्यटन विकास मञ्च र नेपाल पंक्षी संरक्षण संघले बर्दियाका बिभिन्न ठाउँमा गरिएको अनुगमनबाट जल चराको संख्या प्रत्येक बर्ष घटेको पाईएको छ ।
अनुगमन टोलीले जिल्लाको कर्णाली, गेरुवा, बबई नदि र बढैया तालमा गरेको अनुगमनबाट जल चराको संख्या प्रत्येक बर्ष घट्दै गएको देखिएको हो । चराको बाँसस्थानमा कमी भएपछि आगन्तुक र रैथाने जल चराको संख्यामा कमी हुँदै गएको देखिएको हो । अनुगमन टोलीले यस बर्ष जल चराको संख्या गत बर्षको तुलनामा २० प्रतिशतले कमी भएको दाबी गरेको छ । एक साता सम्म गरिएको जल चरा अनुगमनबाट कर्णाली नदिमा १८ प्रजातिका आगन्तुक र १५ प्रजातिका रैथाने, त्यस्तै गेरुवा नदिमा २५ प्रजातिका आगन्तुक र ४३ प्रजातिका रैथाने र सिमसार क्षेत्र बढैया तालमा ३८ प्रजातिका आगन्तुक चराहरु रहेका छन् ।
आगन्तुक जल चराहरुको लागि नेपालकै दोस्रो ठूलो सिमसार बढैया ताललाई माछा पालन गर्नका लागि ठेक्कामा दिइएकोले पनि जल चराको संख्या घट्दै गएको हो । जल चरा गणना कार्यक्रमका संयोजक रामबहादुर शाहीले बढैया ताललाई माछा पालन भन्दा पनि टुरिजम प्रमोटको विकास गरी पर्यटकहरुलाई चरा हेर्ने गन्तब्यका रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया