काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा. शशी शर्मालाई बर्खास्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा. शशी शर्माको नियुक्ति निष्क्रिय गर्न निर्देशन दिएको भोलिपल्ट बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शर्मालाई बर्खास्त गरेको हो । शर्मालाई डिनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंगलवार निर्देशन दिएको २४ घन्टापछि शर्मालाई त्रिवि कार्यकारी परिषद्को बैठकले बर्खास्त गरेको हो । कार्यकारी परिषद्को निर्णय लगत्तै शर्मालाई हटाएको जानकारीसहितको पत्र बालुवाटार पुगेर अध्यक्ष रेग्मीलाई बुझाइएको छ । उपकुलपति हिराबहादुर महर्जनको हस्ताक्षर रहेको पत्रमा माघ ८ गतेदेखि लागू हुने गरी शर्मालाई डिनबाट हटाइएको उल्लेख रहेको अध्यक्ष रेग्मीको सचिवालयले जानकारी दियो । त्रिवि पदाधिकारीहरू बालुवाटारबाट शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई अनशन फिर्ता गर्न अनुरोध गर्ने निर्णयको पत्रसहित महाराजगन्ज गएका थिए ।
नेपाल चिकित्सक संघ (एनएमए)ले आइतबारबाट देशभरको स्वास्थ्य सेवा ठप्प पार्नुका साथै शर्माको नियुक्तिको विरोधमा अनशनमा बसेका डा. केसीको जीवन खतरामा पर्न सक्ने भएकाले रेग्मीले नियुक्ति निष्क्रिय गर्न निर्देशन दिएका थिए । बुधवार नै कार्यकारी परिषद्को निर्णय लिएर अनशनरत डा. केसीलाई भेट्न त्रिवि परिषद्का प्रतिनिधि गएका थिए ।
शर्मालाई डिनमा नियुक्त गरेसँगै शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसी विभिन्न सात सुत्रीय माग राख्दै १२ दिनदेखि आमरण अनशनमा बसेका थिए ।
प्रतिक्रिया