संविधानसभाको पहिलो बैठक जम्मा २० मिनेट

काठमाडौं । दोस्रो संविधानसभाको पहिलो बैठक २० मिनेट पनि नबसी सकिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो ३ बजेर १० मिनेटमा सुरु भएको बैठक २० मिनेट पनि नबित्दै सकियो । ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको पहिलो बैठकमा उनले मन्त्रिपरिषद् अध्यक्षबाट बैठक आह्वान भएको पत्र पढेर सुनाएका थिए ।
बैठकमा संविधानसभा निर्वाचन सफल पारेकोमा सबै नेपाली जनता र सरकारलाई धन्यवाद दिइएको थियो । निर्वाचन शान्तिपूर्वक र निष्पक्ष रूपमा सम्पन्न भएको प्रस्ताव सर्वसम्मतिले पारित गरिरहँदा निर्वाचनमा धाँधली भयो भन्ने एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहीँ उपस्थित थिए ।
बैठकमा ज्येष्ठ सदस्य थापाले संविधानसभाका अध्यक्ष अनुपस्थित भएको अवस्थामा बैठक सञ्चालनका लागि समिति गठन गरिएको जानकारी गराए । समितिमा मानवहादुर बिक, विद्या भण्डारी, जेबी टुहुरे, रामकुमार शर्मा, आशा चतुर्देवी, विक्रम पाण्डे, अकवाल अहमद साह रहेका छन् ।
पहिलो बैठकमा सप्तरी २ बाट एमाओवादी सभासद् चुनिएका अशोककुमार मण्डललाई सभासद्को हैसियतको काम गर्न रोक लगाएको जानकारी गराइएको थियो । हत्याआरोपी मण्डललाई मंगलबार संविधानभा अदालतले निलम्बनको गरेको हो ।
बैठकमा पहिलो र दोस्रो ठूलो दल बन्न सफल नेपाली कांग्रेस र नेकपा एमाले सत्ता पक्षको लाइनमा बसे । नयाँ सरकार नबनुन्जेलका लागि प्रमुख दुई ठूला दल सत्ता पक्षको रोमा बस्नेछन् । प्रमुख प्रतिपक्षको लाइनमा एकीकृत माओवादी बसेको थियो सचिवालयले कांग्रेस र एमालेसँगै पाँचौं ठूलो दल फोरम लोकतान्त्रिक, मधेसवादी दलहरू तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम नेपाललाई पनि सत्ता पक्षको लाइनमा राखिएको थियो । राप्रपा नेपाल र राप्रपालाई प्रतिपक्षको लाइनमा राखिएको थियो । संविधानसभाको दोस्रो बैठक माघ १५ गते बुधबार १ बजे बस्नेछ ।

प्रतिक्रिया