विद्यार्थीका समस्या सुल्झाउन बेलायतीमन्त्री सकारात्मक

kandel_03 copyलण्डन । एकजना बेलायतीमन्त्रीले यहाँ अन्तर्राष्ट्रिय विद्यार्थी तथा शैक्षिक संस्थाहरुले अध्यागमन नियम परिवर्तनसँगै भोग्नु परेका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने आश्वासन दिएका छन् । मिनिस्टर फर बिजनेस, इनोभेसन एण्ड स्किल्स् डा. भिन्स् केवलले ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष एवं बेलायतस्थित सफल युवा उद्यमी राजन कँडेलसँग शुक्रबार भएको भेटमा उक्त आश्वासन दिएका हुन् ।

निजी कलेज सञ्चालकसमेत रहेका कँडेलले मन्त्री केवलसमक्ष अन्तर्राष्ट्रिय विद्यार्थी तथा निजी कलेजहरुमाथि थोपरिएको पछिल्लो विभेदकारी नीति र यसले पारेको प्रतिकूल असरबारे अवगत गराएका थिए । भेटमा आफूले शैक्षिक संस्थाहरु माथिको कडाइका कारण बेलायतले आफ्नो साखसमेत गुमाउँदै गएको, बेलायतको अर्थतन्त्रमा वार्षिक दश बिलियन पाउण्ड योगदान दिने शिक्षा क्षेत्र धराशायी बन्दै भएको र निजी कलेजमा करिब ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी घटेकाजस्ता समस्याबारे प्रष्टयाएको कँडेलले बताए ।
निजी कलेजले बेलायती विश्वविद्यालयलाई करिब ४० प्रतिशत विद्यार्थी दिने गरेकामा विद्यार्थी भर्ना न्यून भएपछि यसले विश्वविद्यालयसमेत प्रभावित हुने उल्लेख गर्दा मन्त्री केवलले शैक्षिक व्यवसायको उत्थानका लागि आफूले सधैं आवाज उठाएको जनाउँदै विद्यार्थी र शैक्षिक संस्थाहरुको समस्या सम्बन्धमा नयाँ तथ्यांकसहित होम अफिसका सम्बन्धित अधिकारीसमक्ष कुरा राख्ने आश्वासन दिएको कँडेलले जनाए ।
बेलायतमा कलेज, ग्रोसरी, फार्मेसी, रेष्टुरेन्टलगायत व्यवसायमा लगानी गरिरहेका कँडेल ग्रुप अफ कम्पनिजअन्तर्गत करिब दुई सय बढी कामदारहरु छन् । बेलायतमा सञ्चालित निजी व्यवस्थापनको साउथ लण्डन कलेज र नेपालको द ब्रिटिश कलेज कँडेल ग्रुप अफ कम्पनिजको लगानीमा चलिरहेको छ ।

प्रतिक्रिया