‘दक्षिणपरस्त भयौँ’

काठमाडौं, ७ माघ । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वले स्वतन्त्र निर्णय लिन नसक्दा पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत दस्तावेजमा आफ्नो धारणा राख्दै नेता कृष्णबहादुर महराले पार्टीमा दक्षिणको प्रभाव बढ्दै गएको जीकिर गरे । उनले छिमेकी मुलुक भारततर्फ इंगित गर्दै पार्टी दक्षिणतिर ढल्किएकाले चुनावमा क्षति बेहोर्नु परेको दाबी गरे । उनले कसैको प्रभावमा परेर पार्टी बहकिएको समेत औँल्याएको स्रोत बताउँछ । दस्तावेजमाथि टिप्पणी गर्दै नेता महराले पार्टी अनुशासनहीन भएको र नेतृत्वसमेत अराजक भएको भन्दै केन्द्रिकृत नेतृत्व प्रणाली लागू गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्षको दस्तावेजमा सहमति जनाउँदै महराले नेतृत्व हस्तान्तरण अहिले नै गर्न नहुने जीकिर गरे ।
बैठकमा मंगलबार आठ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । धारणा राख्नेहरूमा महराका साथै बरिष्ठ नेता पोष्टबहादुर बोगटी, विश्वभक्त दुलाल, हिसिला यमी, जनार्दन शर्मा लगायत थिए ।

बैठकमा आफ्नो धारणा राख्दै बरिष्ठ नेता पोष्टबहादुर बोगटीले अहिले नेतृत्व परिवर्तन भन्दा पनि रूपान्तरण गर्ने बेला भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । पार्टी कार्यालयमा हुने निर्णयहरू दुई वा तीन जनामा मात्रै सीमित हुने गरेको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

नेतृ यमीले निर्वाचनमा प्राविधिक र व्यावहारिक ज्ञान कमी भएकाले हार व्यहोर्नु परेको बताइन् । उनले विरोधीहरू संसदीय खेलमा पारङ्गत भएका र उनीहरूसँगको प्रतिस्पर्दामा हाम्रो कमी भएकाले पराजित हुनुपरेको विचार व्यक्त गरिन् ।

नेता देवेन्द्र पौडेलले पार्टी सुदृढीकरणको विषयलाई उठाए । उनले पार्टी नेतृत्वलाई सरकार भन्दा पनि जनता र कार्यकर्तामा जान समेत सुझाएका थिए । नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्न बहस र छलफलका साथ परिमार्जन गर्दै लैजानुपर्ने भन्दै पौडेलले पार्टी हस्तान्तरणको कुरा नेतृत्वले नै गरेको भन्दै प्रक्रिया सुरु गर्न चुनौती समेत दिए ।
नेता जनार्दन शर्माले पनि नेतृत्व परिवर्तनमा असहमती जनाए । नेतृत्व परिवर्तनका लागि गहन छलफल, बहस र उत्तराधिकारी तयार गर्नुपर्ने र बरु नेतृत्व मजबुत पारेर जानुपर्ने उनले बताए ।

प्रतिक्रिया