काठमाडौं । नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामाले सिर्जना गरेका विभिन्न चित्रको कला प्रदर्शनी ‘सम्पदा र गौरव’ सोमबार सुरु भयो ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा सुरु भएको प्रदर्शनी २१ माघसम्म चल्नेछ । मठमन्दिर, चैत्य, गुम्बा, बुद्धको स्वरुप, गाउाका सामान्य घरदेखि सहरको दृष्य, हिमाल, पहाड, तराईलगायत विषयवस्तुलाई २० चित्रमा समेटिएको छ । चित्रमा प्रयोग गरिएका विवध रङका पताकाले देशको विभिन्न जाति, समुदाय तथा विविधतालाई देखाउाछ ।
नेकपा (एमाले) सांस्कृतिक विभागका प्रमुख वाचस्पति देवकोटाले प्रदर्शनीको उद्घाटन गर्दै कलाकारले समाजको समसामयिक विषयवस्तुलाई विभिन्न विम्बका माध्यमबाट अभिव्यक्त गर्ने र यसले देशको राष्ट्रियता, एकता र भातृत्वलाई बलियो बनाउन सशक्त भूमिका खेल्ने विचार व्यक्त गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले समाजलाई सुन्दर र समृद्ध बनाउन कला तथा साहित्यको ठूलो भूमिका रहने भएकाले यसको प्रवद्र्धनका लागि सबै लाग्नुपर्ने बताए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, कलाकार कृष्ण मानन्धर, केशवराज खनाललगायतले लामाले नेपाली समाजका मौलिक शैलीका घर, बस्ती र सहरलाई चित्रमा विभिन्न रङ र संयोजनको प्रयोग गरी आकर्षक ढङ्गले उतारेर राष्ट्रियताको परिचय दिएको बताए ।
कलाकार लामाले मुलुकमा बसोबास गर्ने विविध जाति र समूहको धर्म, संस्कार र संस्कृतिको सबैले सम्मान गर्न सके मात्र एकता र प्रगति कायम हुन सक्ने भावना आफूले सो चित्रमा अभिव्यक्त गरिएको जानकारी दिए ।
प्रतिक्रिया