भारतमा कंग्रेसलाई धक्का

नयाँ दिल्ली, २४ मंसिर । भ्रष्टाचारविरोधी नयाँ दल आम आदमी पार्टीले सत्ताधारी कंग्रेस पार्टीलाई नयाँ दिल्लीको विधानसभामा पराजित गरेको छ । आइतबार भएको मतगणनामा अन्य तीन राज्यमा पनि कंग्रेसले पराजय भोग्नुपर्ने अवस्था देखिएको छ । यो परिणामबाट कंग्रेसलाई आमचुनावमा पनि धक्का पुग्न सक्ने अनुमान गरिएको छ ।
‘मे के मात्र भन्न सक्छु भने दिल्लीको जनताले निर्णय लिएका छन् जसलाई हामी सम्मान गर्छौं,’ १५ वर्षसम्म बागडोर सम्हालेकी मुख्यमन्त्री शीला दीक्षितले तेस्रो स्थानमा आउने देखिएपछि राजिनामा दिएर भनिन् । आम आदमीका अरविन्द केजरिवालसँग पराजित भएकी दीक्षितले आफूहरूबाट भएका कमजोरीबारे समीक्षा गरिने बताइन् ।
एक वर्षअघि मात्र पार्टी आरम्भ गरेका केजरिवालले आफ्नो विजय जनताको विजय भएको प्रतिक्रिया दिएका छन् । मुलुकले जित्ने, जनताले जित्ने तथा प्रजातन्त्रले जित्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
हालसम्मको मतगणनाअनुसार आम आदमीले हिन्दू राष्ट्रवादी प्रतिपक्षी दल भारतीय जनता पार्टी (बीजेपी)लाई पनि दिल्लीमा पूर्ण बहुमत प्राप्त गर्न दिएको छैन । पछिल्लो मतगणनाअनुसार बीजेपीले ३२ स्थान, आम आदमी पार्टीले २६ स्थान तथा यसअघि ४३ स्थानमा रहेको कंग्रेस पार्टीले ९ स्थान प्राप्त गरेको देखिएको छ ।
हालसम्म प्राप्त नतिजाअनुसार बीजेपीले राजस्थान तथा मध्यप्रदेशमा अत्यधिक बहुमत प्राप्त गरेको देखिएको छ । यस दलले छत्तीसगढमा थोरै मतले कंग्रेसलाई जितेको देखिएको छ ।
भारतमा यी चार राज्यमा गत महिना विभिन्न समयमा मतदान भएका थिए । गणना आइतबारका लागि तोकिएको थियो । कंग्रेस पार्टीको शासन रहेको मिजोराममा सोमबार मतगणना हुनेछ ।
आम आदमीले दिल्लीमा मात्र उम्मेदवारी दिएको थियो । यस दलले मे महिनामा हुने चुनावमा विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रमा देशव्यापी रूपमा उम्मेदवारी दिने अपेक्षा गरिएको छ ।
केजरिवालका एक सहयोगी अतिशी मार्लेनाले एनडीटीभीाई आफूहरूले निर्वाचनको राजनीतिक परिदृष्यलाई परिवर्तन गरिदिएको बताए । आम आदमी समर्थकले पार्टीको मुख्यालयमा कुचो लहराएका थिए । उनीहरूले यसलाई राजनीति सफा गर्ने संकेतका रूपमा लिएका छिन् । बीजेपीका कार्यकर्ताले दिल्ली, मध्यप्रदेश तथा राजस्थानमा नाच्दै, ढोल, पटाका बजाउादै विजयको खुसी मनाएका छन् ।
मानव विकासमन्त्री शशी थरुरले चुनावको यो नतिजा कंग्रेसका लागि ब्युझाउने घन्टी भएको बताएका छन् । यस चुनावलाई आमचुनवाअघि कंग्रेस तथा बीजेपीका लागि प्रमुख परीक्षणका रूपमा हेरिएको छ । यसलाई बीजेपीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा घोषणा गरेको ६३ वर्षीय नरेन्द्र मोदीको पनि परीक्षणका रूपमा हेरिएको छ । कंग्रेसका ४३ वर्षीय राहुल गान्धीलाई प्रमुख नेताको रूपमा उतारिएको छ ।

प्रतिक्रिया