संविधानसभा विघटनको मागमा नेकपा–माओवादी

maobadi

चितवन, २४ मंसिर । चुनाव बहिस्कार गरेको नेकपा–माओवादीले संविधानसभा विघटनको माग अघि सारेको छ ।
राजधानीमा आइतबार सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष मोहन वैद्यले पेस गरेको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा संविधानसभा विघटनको माग गरिएको छ । उक्त प्रतिवेदनमा संविधानसभाको विघटन, नयाँ सर्वपक्षीय राजनीतिक सभा र अन्तरिम सरकारको मागलाई प्रमुखताका साथ उठाइएको छ ।
वैद्यले यही संविधानसभालाई स्वीकार गर्ने, यसमा सहभागी हुन खोज्ने वा त्यसबाटै संविधान खोज्ने कुनै पनि प्रकारका प्रयास संसदीय अभ्यास भएकाले त्यसलाई स्वीकार गर्न नसकिने आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । संविधानसभा विघटन गरी गोलमेच सभा र त्यसमार्फत राष्ट्रिय संयुक्त सरकार गठन गरिनुपर्ने माओवादीको माग छ ।
वैद्यले ‘क्रान्तिकारीहरू’को एकताको प्रस्ताव पनि गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाओवादीले हेटौंडा महाधिवेशनको कार्यदिशा सच्याएर जनविद्रोहको कार्यदिशा लिए पार्टी एकतामा जोड दिइएको छ ।
वैद्यले पार्टीलाई नयाँ उचाइ दिनका लागि नयाँ कार्यक्रमसमेत प्रस्ताव गरेका छन् । बैठकको पहिलो दिन अध्यक्षद्धारा प्रस्तुत दस्तावेज केन्द्रीय सदस्यहरूलाई पढ्न दिइएको र पहिलो दिन १५ जना सदस्यले रिपोटिंङ गरेको केन्द्रीय सदस्य पवनमान श्रेष्ठले सौर्यलाई बताए ।
पाँच दिनसम्म चल्ने बैठकमा आइतबार वैद्यले दस्तावेज भने ‘समय अभाव’ले पढ्न नपाएको बताइएको छ । आज बिहान अध्यक्षले दस्तावेज पढेर सुनाउने बताइएको छ । दस्तावेज पढेर सुनाएपछि त्यसमाथि छलफल हुने माओवादीले जनाएको छ ।

प्रतिक्रिया