कास्की क्षेत्र नम्बर ३ बाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित रबिन्द्र अधिकारीका लागि संविधान बनाउने यो दोस्रो अवसर हो । एमाले युवा नेता अधिकारी पहिलो संविधानसभामा पनि प्रत्यक्ष निर्वाचन जितेर आएका थिए । विद्यार्थी जीवनदेखि तत्कालीन माले, एमाले फेरि माले हँुदै एमाले भएका अधिकारी एमालेभित्र प्रभावशाली युवा नेतामा पर्छन् । बेलाबेलामा पार्टीभित्र आउने नेताहरूका विवादित अभिव्यक्ति मिलाउन भूमिका खेल्ने युवा नेतामा अधिकारी पनि पर्छन् । दोस्रो संविधानसभाको भूमिका र नयाँ संविधान निर्माणको सवालमा सौर्य दैनिकसँग भएको अधिकारीको धारणा:
दोस्रो संविधानससभाको निर्वाचनले नेकपा एमाले र नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी दिएको छ । नेपाली जनताले हामीप्रति दिएको जनमत र गरेको विश्वासलाई दुवै पार्टीले इमान्दारितापूर्वक पालना गर्नुपर्छ । नेपाली जनता यो मुलुकको दुई प्रजातान्त्रिक शक्तिप्रति कति आसावादी रहेछन् भन्ने कुरा यो निर्वाचनले प्रष्ट पारेको छ । पहिलो संविधानसभाको निर्वाचनमा जनताले गरेको अभिमतले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन । योपटक जनताको अभिमत खेर जाने छैन । जुन उदेश्यले निर्वाचन भएको हो, जनताले जुन उद्देश्यका लागि आफ्ना मत दिएका हुन् त्यो काम यो पटक पूरा हुनेछ । यो संविधानसभाले नेपाली जनतालाई संविधान दिनेछ ।
दोस्रो संविधानसभाको निर्वाचनले जनतामा विश्वास बढाएको छ । अब कुनै बाहना वा अवरोधले संविधान बन्ने कुरामा भाँजो हाल्ने छैन भन्ने । जनता विश्वस्त छन्, आफूले विजयी गराएको नेतृत्वले नेपाली जनताका लागि नयाँ संविधान दिनेछ भन्नेमा । निर्वाचनको परिणाम पछिका दिनमा एमाओवादीका नेताहरूले गरेका अभिब्यक्तीले जनतामा केही आशंका उत्पन्न हुन सक्छ । कतै यो संविधानसभाबाट पनि संविधान बन्दैन कि भन्ने । तर, तिनै आशंका र शंकाकै बीचमा आसा गर्ने धेरै आधारहरू पनि छन् । हिजो जुन पार्टी संविधानसभामा ठूलो शक्तिका रूपमा आयो, उसको भूमिका संविधान निर्माणका लागि प्रभावकारी र जिम्मेवारपूर्ण रहेन । ठूलो दल भएका कारण एमाओवादीले संविधान निर्माणमा जुन भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो गर्न सकेन । जसका कारण नेपाली जनताले पहिलो संविधानसभाबाट संविधान पाउन सकेनन् । एमाओवादीले जनताले दिएको जनमतको कदर गर्न सकेन ।
पहिलो संविधानसभाबाट संविधान नबन्नुमा एमाओवादीभित्रको अतिवाद, चरम उग्रवाद, र उनीहरूको उग्रता प्रमुख जिम्मेवार छ । यतिबेला उनीहरूको त्यो उग्रता क्रमश: सकिएको छ । यसले संविधान बनाउन सहमति गर्ने आधारहरू देखिएको छ । त्यतिबेला माओवादीमा ठूलो अहमता थियो । आफ्नो कुरा संविधानमा जस्ताको तस्तै राख्नु पर्छ भन्ने । एमाओवादी चाहन्थे, एकल जातिको आधारमा संघीयता बनाउन जुन कुरा अरु राजनीतिक दलहरूका लागि स्वीकार्य थिएन । उनीहरूले राखेको जातीय र क्षेत्रीय मुद्दाको कारण संविधान बन्न अवरोध गर्यो । त्यतिबेला संविधानसभामा निर्णयक पार्टीको रूपमा उनीहरू थिए । तर पनि एमओवादीले आफूले चाहेको जस्तो गर्न सकेन र अरुले भनेका आवाजको सुनवाइ पनि गरेन । जसले संविधान बन्ने प्रक्रियामा अवरोध उत्पन्न गर्यो । यो पटकको जनादेशले ती सबै भ्रमहरूको अन्त्य गरिदिएको छ । अब जनताले दिएको जनादेश सबैले मान्नु पर्छ र जनताको चाहना उनीहरूको मतले दिएको अभिव्यक्तिको अनादर गर्ने दुस्साहस कसैले नगर्दा हुन्छ । जनताको अभिमत भनेको एक प्रकारले जनदबाब पनि हो । त्यहि जनमतको कदर गर्दै सबैको अपनत्व सम्मान हुनेगरी नयाँ संविधान बनिनु पर्छ । यसमा कसैले शंका गरिरहनु पर्दैन संबिधान बन्नेछ ।
आमनेपाली जनता जति मुलुकप्रति अत्यन्तै संवेदनशील छन् । र, यतिबेला समयले राजनैतिक पार्टीहरूलाई हिजोभन्दा आज बढी सचेत र संवेदनशील बनाएको छ । नेताहरूमा जनताको अभिव्यक्तिले सचेत हुन बाध्य बनाएको छ । सबै नेताहरू गम्भीर छन् र एउटै सोच आएको छ अव मुलुकलाई अन्योलमा राखिरहनु हँुदैन, निकास दिनु पर्छ भन्ने । मैले विश्वास लिएको छु, नेताहरूको गाम्भीरतालाई संविधानसभामा देखाउने छन् र त्यहीअनुरूप नेताहरूको भूमिका संविधान निर्माणमा प्रकट हुनेछ । सबै नेताहरूले विगतको कमीकमजोरीबाट पाठ सिकेर आउने दिनमा जिम्मेवारीपूर्वक काम गर्नेछन् । यसको बाबजुद हामीबीच केही शंका र चुनौतिहरू छन् । ती सबै चुनौतिहरूलाई सहमतिको आधारमा सहज बनाएर अगाडि बढ्ने कुरामा सबै नेता एक मत हुनेछन् भन्ने लागेको छ । यदि त्यसो गर्न सकिएन भने सबैले नेपाली जनताको सामु ठूलो मूल्य चुकाउने छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली जनताले एमाले र नेपाली कांग्रेसलाई प्रष्टसँग ताजा जनादेश दिएका छन् । नेपालको इतिहासमा यी दुवै जनआन्दोलनकारी शक्ति हुन अनेकौँ कालखण्डमा यिनै दुई शक्तिको बलले राजनैतिक परिवर्तन भएको छ । जुन कुरा हामीले भुले पनि नेपाली जनताले भुल्ने छैनन् । सँगसँगै माओवादी पनि एउटा आन्दोलनकारी शक्ति हो । तर, यति बेला नेपाली जनताले एमाले र कांग्रेसप्रति ठूलो विश्वासले आफ्नो अभिमत प्रकट गरेका छन । नेपाली जनताले यहि दुई शक्तिको अगुवाईमा संविधान बन्छ भन्ने विश्वासमा मत दिएका हुन् । जनताको त्यो अभिमतको दुवै पार्टीले कदर गर्नेमा म विश्वस्त छु । सानातिना कुरामा नअल्झेर जनताको त्यो जनमतको इमान्दारितापूर्वक हामीले पालना गर्नुपर्छ ।
निर्वाचनको परिणामसँगै आउने दिनमा सरकार सञ्चालन र राष्ट्रपति एवम् उपराष्ट्रपतिको जिम्मेवारीको सन्दर्भमा केही विचारहरू बाहिर आएका छन् । अहिले पनि मुलुक संक्रमणकालमा छ यस्तो अवस्थामा यस्ता बहस हुनुलाई अस्वभाविक मान्नु हँुदैन । तर, कता कता लाग्दैछ नेपाली कांग्रेसलाई फेरि पनि आफू ठूलो दल भएकामा दम्भ बढेजस्तै छ । त्यही दम्भको कारण उनीहरूको अभिव्यक्ति बाहिर आएका होलान् । जनताले दिएको मतलाई कसैले पनि दम्भको रूपमा लिनु हँुदैन । जनताको मतले त पार्टीहरू जिम्मेवार बन्नुपर्छ । आफूमा आएको जिम्मेवारीलाई दम्भ मान्न थालियो भने जनताले पछुताउने अवस्था आउन सक्छ । निर्वाचनपछि मुलुकले नयाँ जनादेश प्राप्त गरिसकेको छ । त्यस्तो अवस्थामा राष्ट्रका विभिन्न निकायमा पुन: निर्वाचन गरेर हिजोका प्रतिनिधिहरूको ठाउँमा नयाँ नेतृत्व आउनु कुनै अनौठो कुरा होइन । हामी नयाँ संविधानसभा र नयाँ संसद बनाउँदै छौँ भने नयाँ राष्ट्रपति, उपराष्टपति बनाउन किन नहुने ? एउटा कालखण्डमा नयाँ निर्वाचित निकाय आउनु प्रजातान्त्रिक बाटो हो । जनताको जनादेशअनुसार हरेक निकाय अगाडि बढ्नुपर्छ । त्यसो भएन भने प्रजातन्त्रको प्रयोग भएको देखिँदैन । प्रजातान्त्रिक देशमा हरेक कुरा नियम र प्रक्रियाले चल्नुपर्छ । त्यहि नै प्रजातान्त्रको मुलभूत कुरा हो । एउटा निर्वाचनबाट नयाँ जनादेश आइसके पछि पुरानो निर्वाचित निकायलाई जस्ताको तस्तै राख्नु भनेको प्रजातान्त्रिक कुरा हुँदैन । त्यो ठाउँ नयाँ जनता देशसँगै नयाँ व्यक्ति वा पार्टीले लिन सक्छ ।
ठूलो पार्टी भएकामा कांग्रेसमा अहं पलाएको हुन सक्छ । मैले संसार जितेको छु, जनताले ठूलो पार्टी बनाइदिएका छन् भन्ने । त्यसैले सबैकुरा आफु अनुकूल हुनुपर्छ भन्ने सोच आयो होला । तर, प्रजातन्त्रमा जनताको मत पाउनु भनेको आफ्नो मनखुसी गर्दै हिँड्नका लागि होइन । जनता र राष्ट्रप्रति जिम्मेवार हँुदै आफु पनि नियममा चल्ने र अरुलाई पनि नियममा हिँडउन जनताले मत दिएका हुन् । संसारका प्रजातान्त्रिक मुलुकमा ठूला दल भएको कारण उसलाई नियम नलाग्ने भन्ने हँुदैन । कांग्रेसले बुझ्नु पर्छ ठूलो हुनु भनेको बढी जिम्मेवार हुनु पनि हो । हिजो एमाओवादीमा ठूलो भएको दम्भले मुलुकको अवस्था यहाँ पुग्यो । अब कांग्रेसको दम्भले मुलुक पछाडि गयो भने त्यसको मूल्य नेपाली जनताले खोज्नेछन् । नयाँ जनादेश आएको समयमा नयाँ राष्ट्रपति बनाउनु हुँदैन भन्नु अलोकतान्त्रिक कुरा हो । सहमतिमा पनि राष्ट्रपति चयन गर्न सकिन्छ । यहि राष्ट्रपतिले संसद बोलाउने त्यहिबाट नयाँ सरकार बनाएर राष्ट्रपतिको निर्वाचन गर्न सकिन्छ । त्यसका लागि यस्ता दम्भले असहयोग गर्न सक्छ । पहिलो संविधानसभामा केही समस्या थियो राजा भूमिकाविहीन थिए, सरकार थिएन । त्यस्तो अवस्थामा संसद कसले बोलाउने अन्योल थियो, त्यसैले प्रधानमान्त्रीले बोलाए । अहिले समय फेरिएको छ, हामी धेरै कुरामा अगाडि बढेका छौँ र त्यहि अनुरूप चल्नुपर्छ ।
हिजो पनि र आज पनि एमालेको प्राथमिकता संविधान हो । हामी जनताबाट संविधान बनाउन भनेर निर्वाचित भएका हौँ । जनताले हामीलाई दिएको त्यो अभिमतको हामी कदर गर्नेछौँ । जनतासँग जे काम गर्न मत मागेर आएका छौँ, त्यसमा हामी एक इन्च पनि तलमाथि गर्ने छैनौँ । एमाले संविधान निर्माणका लागि जे पनि गर्न तयार छ । जे गर्दा जनताको संविधान बन्ने सुनिश्चित हुन्छ, एमाले त्यसै अनुसार अगाडि बढ्नेछ । संविधानका लागि हामी सरकारमा बस्न पनि तयार छौँ । सरकारबाहिर बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि तयार छौँ । मुलुक र प्रजातान्त्रिक संस्कारभित्र रहेर एमाले सबै प्रकारको त्याग गर्न तयार छ । पार्टीका निश्चित विचार र सिद्धान्तबाहेक एमालेले संविधानका लागि सबै कुरा छाड्न तयार छ । संविधान निर्माणमा आफ्नो स्वार्थका लागि कुनै सर्त एमालेले राख्ने छैन । मुलुकको हितमा सबै प्रकारको त्याग गर्न हिजो पनि एमाले तयार थियो, आज पनि तयार छ । पहिलो सर्त स्वार्थ जे भने पनि एमालेका लागि, जनताका लागि संविधान नै हो ।
पहिलो संविधानसभा निर्वाचन र यो निर्वाचनमा केही फरक अवस्था थिए । त्यतिबेला धेरै आस, त्रास र आश्वासनको बीचमा संविधानसभा निर्वाचन भयो । पहिलो निर्वाचनमा जनताले एमाओवादीलाई भरोसा पनि गरे । एमाओवादीको नेतृत्वमा नयाँ संविधान बन्नेमा जनता आसावादी थिए । त्यतिबेला जनतामा एक प्रकारले उत्साह थियो नेपालको इतिहासमा जनताको प्रतिनिधीले संविधान लेख्ने अवसर पाए भनेर । सँगै जनतामा एक प्रकारको भावुकता पनि थियो । अब शान्ति होला भन्ने आसा जनताले लिएका थिए । देशमा लामो युद्धबाट आएको पार्टी निर्वाचनमा सहभागी थियो । युद्धको पीडा सबै जनताले धेरै थोर भोगेका थिए । र, मुलुकमा शान्ति र स्थायित्त्वका लागि एमाओवादीलाई परीक्षणको रूपमा मत दिएका थिए । यो निर्वाचनमा जनतालले सोचविचार गरेर आफ्नो मत जाहेर गरेका छन् । अब जनताले बुझे मुलुकलाई गलत दिशामा जान दिनु हुँदैन रहेछ भन्ने र जनताको मत पनि त्यहि अनुरूप आयो । पहिलो निर्वाचन आवश्यकताभन्दा बढी उत्साहमा भयो यो निर्वाचन होसियारीपूर्वक भएको छ । जनताले यतिबेला पार्टीहरूलाई खबरदारीपूर्वक मत दिएका छन् । पहिलो संविधानसभाको निर्वाचन संविधान निर्माणमा मात्र केन्द्रित थियो यो निर्वाचनमा जनताले संविधान, शान्ति र विकास सँगसँगै खोजेका छन् । यो समयसँगै जनतामा आएको परिपक्कता हो भन्ने लाग्छ ।
एमाओवादीप्रति रहेको जनताको भ्रम पहिलो संविधानसभा निर्वाचनले समाप्त गरेको छ । जुन आसले मत दिए त्यो जनताको आसा भरोसा एमाओवादीले पूरा गर्न सकेन । हामी जनतालाई विश्वास दिलाउन चाहन्छौँ । एमाले एक वर्षभित्र जनतालाई संविधान दिन तयार छ । जहाँसम्म संविधान निर्माणका लागि दलीय सहमतिको कुरा छ, मलाई विश्वास छ यसमा सबै दल गम्भीर भएर सहमतिमा आउने छन् । सबैको पर्याप्त समहतिमा संविधान बन्छ । नेल्सन मन्डेलाजस्ता नेताले त सबैको सहमति पाएनन् भने यहाँ पनि सबै कुरामा सबैको सहमति नहुन सक्छ । दुनियाँको कुनै मुलुकमा पनि हरेक कुरामा सबैको सहमति भएको छैन । यदि त्यस्तो भएन भने हामी दुइतिहाई सहमतिमा बहुजातीय बहुपहिचानसहितको संविधान बनाउने छौँ । त्यसका लागी नेपाली जनताले हामीलाई जनमत दिएका छन् । आजको युगमा जातजातिलाई राज्य दिन्छौँ भनेको भरमा जनताले उनको कुरा पत्याउँदैनन् भन्ने प्रष्टता निर्वाचनको परिणामले गरेको छ । जनता एकल जातीय कुरा चाहँदैनन् भन्ने कुरा जनताको जनतमतले प्रष्ट परेको छ । हामी जनताको त्यहि जनमतलाई सम्मान गर्दै संविधान बनाउने छौँ ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया