प्रहरी महानिरीक्षक अर्याललाई सम्मान

काठमाडौं, २२ मंसिर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनताको सहयोग र सल्लाह अनुरुप प्रहरी आफ्नो कार्यमा प्रतिबद्ध रहको जनाएका छन् ।

आफ्नो सम्मानमा नेपाल पूर्व प्रहरी संगठन केन्द्रीय कार्यालय, धापासीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले संविधानसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएकामा अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेकाले प्रहरीलाई काम गर्न अझ बढी प्रेरणा मिलेको बताए ।
उनले नेपाल प्रहरीलाई यो अवस्थासम्म ल्याउन अमर प्रहरी, वीर प्रहरी, घाइते प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संगठनका अध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक दिलबहादुर लामाले प्रहरी महानिरीक्षक जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने र जनताका घरदैलोमा खट्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिमिल्सना, संगठनका महासचिव पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रुपसागर मोक्तान, वरिष्ठ उपाध्यक्ष गञ्जसिंह गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै शुक्रबारै महानिरीक्षक अर्यालले महिला हिंसाबारेको अन्तक्र्रिया कार्यक्रममा महिला प्रहरी कर्मचारीको वृत्ति विकास र पहुँच अभिवृद्धिका लागि राज्य संयन्त्रले ध्यान दिनुपर्ने बताए । उनले महिला प्रहरी कर्मचारीको संख्यात्मक र गुणात्मक विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणलाई संगठनले आगामी दिनमा सशक्त रुपमा अगाडि बढाउने बताए ।

प्रतिक्रिया