व्यवसायिक मत्स्यपालन गर्ने किसानलाई अनुदान

काठमाडौं, २१ मंसिर । जिल्लाका विभिन्न स्थानमा अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम सुरु भएको छ । माछा उत्पादनको क्षेत्र विस्तार गरी भारतबाट आउने माछाको आयातमा कमी ल्याउने उद्देश्यले यसै वर्षदेखि सो कार्यक्रम सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा अहिले पाँच हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरेर माछापालन गर्ने किसानलाई एक हेक्टर बराबर एक लाख अनुदान दिइने भएको सो कार्यालयले जनाएको छ ।

माछापालन गर्नका लागि अनुदान लिने किसानले कम्तीमा तीन कट्टा जलाशय भएको पोखरी निर्माण गरेको हुनुपर्ने, एउटा गाउँमा धेरै पोखरी बनाएर माग गर्ने किसानलाई प्राथमिकता दिइएको जिल्ला कृषि विकास कार्यालय कैलालीका प्राविधिक सहायक यज्ञप्रसाद साप्कोटाले बताए । सो अभियानअनुरूप इँटाभट्टा बनाएका खाल्डाखुल्डीमा सुदृढीकरण गरी माछापालन गर्न चाहने किसानलाई एक हेक्टर बराबर ४० हजार अनुदान दिने कार्यक्रम रहेको उनले बताए । इँटाभट्टा बनाएर छोडिएका खाल्डाखुल्डीमा सुदृढीकरण गर्ने कार्यक्रम पाँच हेक्टर क्षेत्रफलमा रहेको जनाइएको छ ।
कैलालीमा मागअनुसार माछा उत्पादन नहुँदा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए । ‘यो कार्यक्रम लागू भएपछि जिल्लामा वार्षिक १५ टन थप माछा उत्पादन हुनेछ ।’ उनले भने । जिल्ला कृषि विकास कार्यालयका अनुसार कैलालीमा एक सय ३६ हेक्टर पोखरी र आठ सय ७८ हेक्टर घोलतालमा गरी एक हजार १४ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । गत वर्ष पोखरीबाट तीन सय टन र घोलतालबाट आठ सय ९८ गरी एक हजार एक सय ९८ टन माछा उत्पादन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । धनगढी नगरपालिका, गदरिया, रतनपुर र खैलाड माछापालनका लागि पकेट क्षेत्रका रूपमा लिइएको जनाइएको छ । (सौस)

प्रतिक्रिया