राष्ट्रपतिबारे ‘जुहारी’

Sushil Koirala n Jn Khanalकाठमाडौं, २१ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा विवाद नझिक्न एमालेसँग आग्रह गरेका छन् ।

एमाले नयाँ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका बेला कांग्रेस सभापति कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी विवाद खडा नगर्न आग्रह हुन् । कोइराला बिहीबार एमाले अध्यक्ष खनाललाई भेट्न डल्लुस्थित खनालनिवास पुगेका थिए । खनालसँगको भेटमा कोइरालाले अन्तरिम संविधानको मर्मअनुरूप अघि बढ्नुपर्ने भन्दै बरु छिटोभन्दा छिटो नयाँ संविधान गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
‘नयाँ संविधान जारी गरेपछि राष्ट्रपति र उपराष्ट्रपति स्वत: पदमुक्त हुन्छन्, अहिले नै यसबारे बखेडा नझिक्न मैले एमाले अध्यक्ष खनालसँग आग्रह गरेको छु,’ कोइरालाले सञ्चारकर्मीसँग भने ।
एमाले अध्यक्ष खनालले कोइरालासँगको भेटमा नयाँ जनमतअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चयन सरकार गठनअघि नै हुनुपर्ने जवाफ दिएका थिए । एमाले अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारीका अनुसार खनाल र कोइरालाबीच देशको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो । यसअघि खनालले कोइरालालाई भेटी ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्व लिन औपचारिक रूपमा आग्रह गरेका थिए ।
अडान नलिन कांग्रेसलाई एमालेको आग्रह

संविधानसभाको दोस्रो ठूलो पार्टी एमालेले अन्य राजनीतिक दलसँग वार्ता गर्न भन्दै अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा ६ सदस्यीय टोली गठन गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले नयाँ संविधान निर्माण र सहमतीय सरकार गठनका लागि पहल गर्न शीर्ष नेता सम्मिलित वार्ता टोली गठन गरेको हो । एमालेले राष्ट्रपति चुनावको विषयमा ‘अनावश्यक अडान’ नलिन कांग्रेसलाई आग्रहसमेत गरेको छ । वार्ता टोलीले नयाँ सरकार गठनदेखि नयाँ संविधान निर्माणका विषयमा कांग्रेस एमाओवादीलगायत दलसँग समन्वयकारी भूमिका निर्वाह गर्ने उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
वार्ता टोली सदस्यमा वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, गौतमसहित अर्का उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल छन् । उपाध्यक्ष गौतमले ताजा जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन हुनुपर्ने पार्टीको अडान कायमै रहेको जानकारी दिँदै त्यसलाई सत्ता बार्गेनिङको आधार नबनाएको प्रतिक्रिया दिए । बैठकले लोकतन्त्र पक्षधर सबै शक्ति ताजा जनादेशअनुसार चल्नुपर्ने निष्कर्ष निकाल्दै राष्ट्रपतिको चुनावका विषयमा अनावश्यक अडान नलिन कांग्रेसलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया