काठमाडौंलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता

kathmanduकाठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संविधानसभाका नवनिर्वाचित सभासद्हरुले आ–आफ्नो ठाउँबाट विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाद्वारा उपत्यकाबाट संविधानसभामा निर्वाचित सदस्यहरुलाई बधाई दिन विहिवार आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित सभासद् प्रकाशमान सिंह, क्षेत्र नं. ७ का रामवीर मानन्धर, क्षेत्र नं. १० का राजन केसी, ललितपुर क्षेत्र नं. ३ का मदनबहादुर अमात्य र भक्तपुर क्षेत्र नं. २ का रामेश्वरप्रसाद ढुङ्गेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।
होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्टस् (नारा), रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर्सलगायत ११ वटा विभिन्न संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा काठमाडौ. क्षेत्र नं. १ बाट विजयी नेपाली काँग्रेसका महामन्त्री सिंहले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटकिय क्षेत्रको विकासका लागि सँगसँगै काम गर्ने वातावरण ब नाउनु पर्ने धारणा राखे । उनले संविधानसभाबाट एक वर्षभित्र सबैले आफ्नो अपनत्व ग्रहण गर्ने गरी सहमतिको संविधान निर्माण गर्न प्रयास गर्ने र सहमति हुन नसकेमा दुई तिहाइ बहुमतका आधारमा र दुई तिहाइबाट पनि संविधान जारी हुन नसक्ने अवस्था आए जनमत सङ्ग्रहमा जाने धारणा राखे ।
ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् अमात्यले पर्यटन क्षेत्रको विकासका लागि बन्द हड्ताललाई निस्तेज पार्नुपर्ने धारणा राखे । काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित सभासद् मानन्धरले ३३ वर्ष पहिले निर्माण गरिएको चक्रपथलाई अब १० लेनमा विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ६ का भीमसेनदान प्रधान, क्षेत्र नं. ८ का नवीन्द्रराज जोशी, क्षेत्र ९ का ध्यानगोविन्द रन्जित, ललितपुर क्षेत्र नं. २ का चन्द्र महर्जनलाई पनि सम्मान गरिएको थियो ।
होटल एसोसिएसन नेपालका (हान) अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले पर्यटन उद्योगबाट विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, गरिबी निवारण, क्षेत्रीय सन्तुलन, निर्यात प्रवद्र्धन हुने भएकाले यस तर्फ विशेष ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया