शक्तिमा सहमति नभए एमाले विपक्षमा बस्ने

काठमाडौं, मंसिर २१ । नेकपा एमाले नेता रघुजी पन्तले शक्ति बाँडफाटमा सहमति हुन नसके एमाले विपक्षमा बस्ने बताएका छन् । उनले नेपाली काँग्रेसका सवै शर्त मानेर एमाले सरकारमा जान नसक्ने पनि धारणा राखे । उनले नेपाली काँग्रेसले बहुमत नै आएको जस्तो गरी यो हुँदैन र त्यो हुँदैन भनेर सहमती विगार्न खोजेको आरोप समेत लगाए ।

”राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद कसैको बिर्ता होइन । यसको फैसला नयाँ संविधानसभाले गर्नु पर्छ,” बिहीबार आयोजित एक कार्यक्रममा नेता पन्तले भने, ”संविधानसभा सर्वशक्तिमान छ यसले नयाँ राष्ट्रपतिको चयनको लागि संविधान संशोधन गर्नु परे पनि गर्नु पर्छ ।” कांग्रेस नेता गगन थापाले राष्ट्रपतिको विषयमा अन्तरिम संविधानमा भएको ब्यवस्थाविरुद्ध जान आफनो पार्टी तयार नभएको स्पष्ट पार्दै अहिले भागबण्डाको राजनीति गरे मुलुक अझै जटिल अवस्थामा पुग्ने चेतावनी दिए । उनले अहिले राष्ट्रपतिको विषयमा बहस गर्नु औचित्यहिन भएको तर्क गरे ।
नेता थापाले एमालेलाई अवमुल्यन गर्ने पक्षमा काँग्रेस नरहेको पनि धारणा राखे । उनले भने– ”अन्तरिम संविधान नमानेर संविधान बाहिरबाट हल खोजे संविधानसभाको निर्वाचन नमान्ने र धाँधली भयो भन्ने पक्षलाई फाइदा हुन्छ । यो विषयमा सबै गम्भीर बन्नु पर्छ । राष्ट्रपतिको कार्यकालको विषयमा संविधानमा स्पष्ट ब्यवस्था छ । त्यसैले संविधान बाहिर जानु हुँदैन ।” कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले अन्तरिम संविधानमै राष्ट्रपतिको कार्यकाल संविधान जारी भएपछि समाप्त हुने भनेर उल्लेख भएकाले अहिलो त्यो विषय उठाउनु अर्थहिन हुने धारणा राखे ।
नेता पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचन गरे संविधान जारी भएपछि पुन: राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने भएकाले संविधान विपरित जान नहुने धारणा राखे । आवेशमा आएर राष्ट्रपतिको विषयमा कुनै निर्णय गर्न नहुने पनि उनले बताए ।

प्रतिक्रिया