वैवाहिक हिंसाका रुप धेरै

काठमाडौं, २१ मंसिर । महिलामाथि हुने वैवाहिक हिंसामध्ये १७ प्रतिशत हिंसा शारीरिक, भावनात्मक र यौनिक हिंसा हुने गरेको छ ।

महिला हिंसाविरुद्धको सोह्रदिने अभियानअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयले विहिवार आयोजना गरेको ‘महिलामाथि हुने यौनहिंसा नियन्त्रणसम्बन्धी नीति र कानुनको प्रभावकारिता’ विषयको अन्तक्र्रियामा प्रस्तुत गरिएको कार्यपत्रमा १२ महिनामा १५ देखि ४९ वर्ष उमेर समूहका महिलामाथि २२ प्रतिशत शारीरिक हिंसा हुने गरेको उल्लेख छ ।
सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारीले हिंसामा परेका महिलामध्ये तीन चौथाइ महिलाले मद्दत नमाग्ने र हिंसा पीडितमध्ये सात प्रतिशतले मात्र प्रहरीमा उजुरी गर्ने गरेको दावी गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लले महिलामाथिको हिंसा न्यूनीकरणका लागि सचेतनाको आवश्यकता रहेको बताए ।
सहसचिव रमेश ढकालले नेपालको कानुनले महिलामाथि हुने जबर्जस्ती करणीलाई ज्यान मुद्दाभन्दा कम मानी पीडकलाई दिइने सजायमा समेत कमी भएको उल्लेख गरे । ल्याकका अध्यक्ष शशि अधिकारीले महिलामाथि हुने विभिन्न हिंसापीडितलाई छिटोभन्दा छिटो न्याय दिलाउनका लागि ‘फास्ट ट्रयाक कोर्ट’ को स्थापना गर्न प्रारम्भिक कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया