३८ दिनदेखि आमरण अनशनमा बसेका अधिकारी दम्पतीको जीवन रक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्ने सहमति कार्यान्वयन नभएको भन्दै आमरण अनशनमा बसेका नन्दप्रसाद र गंगादेवी अधिकारीको स्वास्थ्य स्थिति गम्भीर भएको आयोगले जनाको छ ।
‘पीडितका परिवारजनले पुरानै विषय सम्बोधन गर्न माग गर्दै बारम्बार आमरण अनशन बस्नुपर्ने अवस्था विडम्बनापूर्ण छ’ आयोगले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारी हत्या प्रकरणजस्ता सशस्त्र द्धन्दकालीन मानव अधिकार हननका घटनाहरको यथाशक्य छिटो छिनोफानो गर्न आवश्यक छ ।’
अधिकारी दम्पतीका छोरा कृष्ण प्रसादको ९ बर्ष अगाडी माओवादी द्वन्द्वका दौरान हत्या गरिएको थियो । सो विषयमा निष्पक्ष छानविन भई दोषी उपर कारवाहीको माग गर्दै यस अघि पनि अनशनमा बसेका थिए । सरकारले दोषी उपर कारवाही गर्ने आश्वास दिएपछि उनीहरुले अनशन तोडेका थिए ।
प्रतिक्रिया