वास्तविक नेपाली हुन सिकौँ

४ मंसिरमा भएको संविधानसभा निर्वाचनमा पराजित भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी दलका नेताहरूले हार्नु भनेको आफ्नो नभई भारतको पराजय हो भनेका छन् । महतोको यो भनाइ सामान्य रूपमा लिन सकिँदैन । राष्ट्रको मुल कानुन बनाउनका निमित्त गरिएको निर्वाचनमा अर्को कुनै राष्ट्रले जित्ने वा हार्ने भन्नु गम्भीर कुरा हो । यसले प्रष्ट हुन्छ, महतो विगतमा भारतीय दलालका रूपमा काम गरिरहेका रहेछन् र यो चुनावमा भारतले उनलाई जिताउने भूमिका खेली दिएन । महतोको यो भनाइले के पुष्टि हुँदै छ भने निर्वाचन त हामीले गर्‍यौँ, जनतालाई मत हाल्न पनि लगायौँ तर नेपालको राजनीतिको पर्दापछाडि अरु तागतले खेलेका रहेछन् । विगतमा मधेसवादी दलका नेताहरू आफूलाई मधेसका मसिहा ठान्थे र समग्र मधेसको हकवाला धर्तीपुत्र आफू मात्र हौँ भनिरहेका थिए । यदि तिनीहरू स्वतन्त्र, स्वाभिमानी तराई, मधेसका धर्तीपुत्र भएको भए यो चुनावमा उनीहरूले जित्नु पर्ने हो ।
महतोको भनाइलाई बल पुग्ने गरी र यो संविधानसभालाई पनि निकम्मा सावित गराउने मनसायले हुनसक्छ, डा. बाबुराम भट्टराईले विगतको संविधानसभामा भए गरेका सबै काम उल्टाउनु पर्ने र नयाँ राजनीतिक कोर्स सुरु गर्नु पर्ने तर्कअगाडि सारेका छन् । स्मरणरहोस्, विगतको संविधानसभालाई यिनै डा. भट्टराईले हत्या गरेका थिए । नेताहरूका अलोकतान्त्रिक क्रियाकलापले देश हरेक प्रकारको भयानक विवादको भुमरीमा पर्‍यो । दु:खका साथ भन्नुपर्छ, यो राष्ट्रको राष्ट्रिय राजनीतिको बागडोर महतोले भनेजस्तै विदेशीले सम्हालेको हुनसक्छ । विदेशीले नै कसलाई हराउने र कसलाई जिताउने भन्ने कुराको ताकत आफ्नो हातमा लिएका छन् । राजसंस्थाको अन्त्यपश्चात नजानिँदो ढंगले विदेशी देखिनेगरी राजनीतिको अग्रभागमा छन् । स्वाधीन भएर आफ्नो देशको राजनीतिक व्यवस्था चलाउन सक्ने ल्याकत भएका नेताहरू यो देशमा भएको भए आपसमा मिलेर बसेको नेपाली समाज भाँड्नुमा गर्व गर्न सक्ने थिएनन् ।
गलत उद्देश्य राखेर साम्राज्यवादी र बिस्तारवादीहरू यो राष्ट्र बर्बाद बनाउन नेताहरूलाई काँधमा बोकेर यस धर्तीमा मस्तसँग खेलिरहेका छन् । महतोलगायत मधेसवादी दलका नेताहरूको हार र आफ्नै नेपाली दाजुभाइलाई वर्गशत्रु घोषणा गरेर जनयुद्ध नामको हिंसात्मक राजनीतिक अभियान चलाउनेहरूको लज्जास्पद हारलाई देशभित्र स्वाभाविक ठानिँदै छ । संसदवादीहरूले आफ्नो जितलाई बाहिरी मुखले जनताको मत भने पनि उनीहरूका भित्री मनमा बाह्यशक्तिले पासा पल्टाइदियो भन्ने ठानेका छन् । देशीविदेशीलाई प्रयोग गर्दै आएको एमाओवादीको नेृतृत्वले शान्तिप्रक्रियामा आउँदै गर्दा र बालुवाटारमा पुष्पकमल दाहाल प्रकट हुँदा उनले नेपाली सेनालाई राजाको मलामी जाने, सलामी ठोक्ने र चेलीबेटी बलात्कार गर्ने सेना हो, भनेका थिए । आफँैले दुनियाँका सामुन्ने ललकारेको त्यही नेपाली सेनाका ताकतमा आफ्ना सहयात्रीलाई बाहिर राखेर चुनावमा जाँदा के हालत होला भन्ने कुरा एमाओवादी नेतृत्वले बुझ्न सकेन । यसको अर्थ चुनावमा सेनाले धाँधली गर्‍यो भन्ने होइन । सेना बाहिर आयो जनताले निर्भय तरिकाले मतदान गर्न पाएकाले यो परिणाम आएको हो ।
लोकतन्त्रको मूल्य, मान्यता विधिको शासनविपरीत देश दुनियाँ मारेर, बाह्यशक्तिहरूसँग अस्वभाविक सम्बन्ध राखेर आफ्नो राष्ट्र र जनताप्रति गम्भीर प्रकृतिका धोखाधडी गर्ने हाम्रो राजनीतिक नेतृत्वको असफलताका कारण देशको अस्तित्व नै धरापमा परिसकेको आजको अवस्थाबाट राष्ट्रको रक्षा गर्न र वास्तविक जनपक्षीय, नीति र विधिमा आधारित न्यायपूर्ण प्रजातान्त्रिक राज्य व्यवस्था स्थापना गर्ने हो भने, इमान्दार नेताहरूले हरेक पार्टीबाट विद्रोह गर्न सक्नुपर्छ । यो राष्ट्रलाई विवेकशील र कम भ्रष्ट मानिसको देश बनाउने हो भने आफ्ना नेताले गरेका राजनीतिक, सामाजिक र आर्थिक अपराधको लेखाजोखासहित कारबाहीको प्रक्रियाअगाडि बढाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया