पुस्तक मेलामा थरीथरीका पाठक

Pustak-Melaकाठमाडौं, १९ मंसिर । ‘पुस्तक नकिने पनि पुस्तकै–पुस्तकको थाकमा उभिँदा आनन्द लाग्छ । त्यही भएर पुस्तक मेला छुटाउनै मन लाग्दैन,’ राजधानीमा जारी पुस्तक प्रदर्शनीमा भेटिएकी पब्लिक युथ क्याम्पसमा अध्ययनरत अनिता शर्मा हौसिँदै भन्दै थिइन्, ‘मनले खाएको लेखकको पुस्तक पाइयो भने त लगिन्छ पनि ।’

निलोपुलकी सुस्मिताले पनि पुस्तक खरिदभन्दा पनि अवलोकनका लागि प्रदर्शनीमा आएको बताइन् । ‘सामाजिक सञ्जाल तथा अनलाइनमामार्फत नयाँ पुस्तक आएको थाहा पाइहालिन्छ । मन परेका लेखकको भए बजारमा गएर किन्ने गरेको छु,’ उनले भनिन्, ‘प्रदर्शनीमा आउनुको मुख्य कारण भने मेला कस्तो छ, सहभागीहरु कतिको बढे कि घटे र मेला हेर्नलायक छ/छैन भन्ने हो ।’ कुनै पनि पुस्तक मेला सम्भव भएसम्म नछुटाएको अनुभवसमेत उनले सुनाइन् ।
आरआर क्याम्पसमा अध्ययनरत राजन विरहीले भने मेलामा सबै किसिमका पुस्तक पाइने र विशेष छुटसमेत पाइने भएकाले मन लागेका पुस्तक खरिद गर्न आएको बताए । ‘पसलमा १०/१५ प्रतिशतभन्दा डिस्काउन्ट पाइँदैन,’ कोटेश्वरमा बस्दै आएका विरहीले भने, ‘मेलामा भने २०/२५ प्रतिशतसम्म छुट पाइन्छ । त्यसैले पुस्तक किन्न म मेला आउने गर्छु ।’
नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको आयोजनामा १३ मंसिरदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसरमा जारी पुस्तक प्रदर्शनीमा कोही अवलोकन गर्न त कोही पुस्तक किन्नकै लागि आएको भेटिए । विभिन्न संघसंस्थाको आयोजनामा हुने पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास हुने लेखक तथा प्रकाशकको ठम्याइ छ ।
पुस्तक प्रदर्शनीस्थलमै भेटिएका उपन्यासकार कृष्ण धराबासी यस्ता प्रदर्शनी ‘विशेष फेस्टिभल’ भएकाले यसले पठन संस्कृतिको विकास हुने बताए । ‘धेरैलाई त पुस्तक खरिदभन्दा मेला हेरौं भन्ने लागेर पनि मेलासम्म डोर्‍याउँछ,’ उनले भने, ‘त्यसले पनि पठन संस्कृतिमा केही न केही विकास गरिरहेको छ ।’
‘शरणार्थी’, ‘राधा’, ‘तपाई’लगायत चर्चित उपन्यासका सर्जक धरावासीले पुस्तक मेला आएर पढ्न मात्रै नभई सजाउन वा देखाउनका लागि पनि पुस्तकको बिटो लिएर जाने गरेको पाइएको अनुभव सुनाए । ‘यसरी नै त हो नि पठन सँस्कृतिको विकास हुने भनेको,’ उनले भने, ‘उसको घरमा पुस्तक देख्छन् अर्कालाई नि त्यस्तै गर्न मन लाग्छ, उसले नि अर्कोपटक त्यसै गर्छ ।’
२२ गतेसम्म चल्ने मेला ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । मंगलबारसम्म १५ हजारभन्दा बढीले मेला अवलोकन गरिसकेको संघका महासचिव लिखतप्रसाद पाण्डेले सौर्यलाई जानकारी दिए । प्रदर्शनीमा विभिन्न व्यवसायीले ३२ वटा स्टल राखेका छन् ।
प्रदर्शनीमा रहेका व्यवसायी भने यसपटक केही अवलोकनकर्ता घटेको बताउँछन् । संविधानसभा चुनावलगत्तै प्रदर्शनी भएको र प्रचारमा पनि केही कमी भएकाले अपेक्षाअनुरूप बिक्री–वितरण भइनरहेको उनीहरूको भनाइ छ ।
केही भने दर्शकको कमी भन्न नमिल्ने टिप्पणी गर्छन् । ‘अवलोकनकर्ता घटेकै त भन्न मिल्दैन,’ सांग्रिला बुक्सको स्टलमा भेटिएकी अन्जु दाहालले भनिन्’ ‘अवलोकनकर्ता पार्टीकुलर पुस्तक किन्नेमा रुचिभन्दा पनि नाम चलेका लेखक र नाम चलेको पुस्तकमा भने केन्द्रित भएको पाइएको छ ।’

प्रतिक्रिया