भौतिक पूर्वाधार अभावले सेवा दिन कठिन

Prasuti-Bardiyaबर्दिया, १९ मंसिर । प्रयाप्त मात्रामा भौतिक पूर्वाधार नहुदा स्थानीय सेवा प्रदायक संस्थाहरूले प्रदान गर्ने सेवामा कठिनाई उत्पन्न हुने गरेको छ ।

स्थानीय तहमा रहेका गाउँ विकास समिति, स्वास्थ्य संस्था, प्रहरी चौकी, कृषि उप केन्द्रलगायतका सेवा प्रदायक संस्थाहरूमा भौतिक पूर्वाधार नहुँदा सेवाग्राहीहरूलाई सेवा दिन कठिनाई भएको हो । इन्सेक बर्दियाले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने (इएलपी) कार्यक्रम’ अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्यलगायतका सवालका लागि स्थानीय सेवाप्रदायक संस्थामा भेटघाट तथा अनुगमनका क्रममा यस्तो अवस्था पाइएको हो । इन्सेक बर्दियाको संयोजनमा नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मी सम्मिलत टोलीले मंगलबार मोतीपुर गाविस भित्र रहेका स्थानीय सेवा प्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसंगको छलफल तथा अन्र्तक्रियाका सहभागीहरूले प्रयाप्त मात्रामा भैतिक पूर्वाधार नहुदा सेवा प्रदान गर्न कठिनाइ उत्पन्न भएको बताएका हुन् ।
छलफल तथा अन्र्तक्रियामा सहभागी इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी नायव निरिक्षक चेतबहादुर खड्काले व्यवस्थित कार्यालय नहुँदा सेवा दिन कठिनाई उत्पन्न भएको बताए । उनले कार्यालय साँघुरो र व्यवस्थित नहुँदा कार्यसम्पादनमा समेत असर परेको बताए । यस्तै स्वास्थ्य चौकी मोतीपुरका सिनियर अहेब लिलाधर बुढाथोकीले भौतिक पूर्वाधारको अभावमा सबै किसिमका सेवाहरू एउटै कोठाबाट दिन बाध्य भएको बताए । बुढाथोकीले भने, ‘भवन अभाव छ, फर्निचर पनि छैनन, ड्रेसिङ गर्ने देखी औषधी वितरण एउटै कोठाबाट गर्नुपछ ।’ यस्तो अवस्थामा कसरी गुणस्तरीय सेवा दिने । गाउँ विकास समिति मोतीपुरका सचिव कृष्णबहादुर सापकोटाले जनप्रतिनिधि नहँुदा यस्तो समस्या आएको उल्लेख गर्दै तत्काल स्थानीय तहको निर्वाचन गर्न माग गरे । उनले स्थानीय तहको निर्वाचन पछि यस्ता धेरै समस्याको समाधान हुने दावीसमेत गरे ।
इन्सेक बर्दियाका संयोजक सरस्वती मल्लले छलफल, भेटघाट तथा अन्र्तक्रियाबाट प्राप्त सवालहरूका बारेमा संवेदनशील रही चाँडैनै पहल गर्न संम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताईन् ।

प्रतिक्रिया