अधिक सुरक्षाले बालबालिका कमजोर

Mom_kidतपाईं आफ्ना बालबच्चालाई आवश्यकताभन्दा बढी सुरक्षाको वातावरणभित्र राख्नुहुन्छ ? राख्नुहुन्छ भने अब आफ्नो सोच बदल्नुस् । उनीहरूका लागि केही चुनौती पनि खडा गरिदिनुस् । अन्यथा उनीहरू भविष्यमा कातर ठहरिनेछन्, उही उमेरका अरू बच्चाबाट बारम्बार हेपिनेछन् । हालैको एक अध्ययनले बढी सुरक्षाघेरामा बसेका बालबच्चामा अन्य उही उमेरका बच्चाले हेप्न खोज्दा प्रतिरक्षात्मक भावना कमजोर भएको पत्तो लागेको हो ।
करिब २ लाख बच्चामा गरिएको सर्वेक्षणले यस्तो परिणाम निकालेको छ कि बाबुआमा आफ्ना बालबच्चालाई नकारात्मक अनुभवहरूबाट जोगाउने चक्करमा उल्टै उनीहरूलाई थप कमजोर बनाइरहेका छन् । अध्ययनमा यो पनि पाइएको छ कि नकारात्मक या कडा स्वभावका बाबुआमाको निगरानीमा रहेका बच्चामाथि अन्यले बढी धाक जमाउने गरेका छन् । प्रोफेसर डिटर वोकले भने– ‘अध्ययनका क्रममा बालबालिकाको कमजोर स्वभावका लागि सबैले स्कुललाई दोष दिएको पाइयो । तर, रोमाञ्चकारी यथार्थ यही नै थियो कि बढीजसो बच्चा उनीहरूका घरमै सताइएका पाइएका छन् ।’
युनिभर्सिटी अफ बारविकका एक मनोविज्ञान प्रोफेसरले आफूलाई सुरुमा कडा मिजासका अभिभावकका बच्चा मात्र सताइएका हुन्छन् भन्ने लागेको तर आवश्यकताभन्दा बढी माया र सुरक्षात्मक वातावरणमा रहेका बच्चा पनि गलत प्रवृत्तिको सिकार हुने गरेको यथार्थ पत्ता लाग्दा आफू चकित खाएको उल्लेख गरे । भने– ‘सरसर्ती सामान्यतया आमाबुबाको दखल, निरीक्षण तथा समर्थनले बालबच्चालाई सताउने सम्भावना कम देखिन्छ । तर, बालबालिकाप्रति मातापिताको अत्यन्त रक्षात्मक रबैयाले उनीहरूलाई यति कमजोर बनाइदिँदो रहेछ कि उनीहरूले अरूको हेपाइ सहेर बस्नुपर्दो रहेछ । यो सही हो कि बच्चालाई आमाबुबाको समर्थन जरुरी छ तर कति अभिभावक आवश्यकताभन्दा बढी रक्षात्मक भइदिन्छन् । परिणाम– बच्चाहरू सामान्य आपत्तिहरूसँग पनि डराउँछन्, तिनीहरूलाई परास्त गर्ने आत्मविश्वास विकास गर्नै पाउँदैनन् ।’
यो अध्ययनका क्रममा करिब ६ महिनासम्म बच्चाहरूमाथि निगरानी राखिएको थियो । प्रोफेस डिटर वोकका अनुसार हेपाहा प्रवृत्तिका मान्छेहरूले कमजोर मानसिकताका बच्चालाई निसाना बनाउँदा रहेछन् । ज्यादाजसो ती बच्चालाई हेप्न सुरु गर्छन्, जो उनीहरूलाई देखेर रुन वा भाग्न थाल्छन् । यी मान्छेले जब एकपटक त्यस्ता कमजोर बच्चा देख्छन्, तिनीहरूलाई बारम्बार सताउन थालिहाल्छन् । अध्ययनमा थुप्रै युरोपेली तथा अमेरिकी देशका बालबच्चामाथि निगरानी राखिएको थियो । जहाँ यस्तो पनि देखियो कि जो बच्चा आफ्ना दाजुभाइ वा दाजुबहिनी आफूआफू नै झगडा गरिरहेका हुन्छन्, उनीहरूलाई पनि बाहिरी बच्चाले हेप्ने गर्दा रहेछन् । (एजेन्सी)

प्रतिक्रिया