आगामी दिनमा नेकपा–माओवादीको भूमिका

janardan_paudel_aavasनेकपा माओवादी लगायत तेत्तिस दलको वन्द हड्ताल विरोध र वहिष्कारका बावजुद पनि अभुतपूर्व रुपमा शान्तिपूर्ण तरिकाले यहि मंसिर ४ गते संविधान सभाको निर्वाचन सम्पन्न भएको छ । यसलाइ नेपाली राजनैतिक इतिहासमा बडो महत्वपूर्ण ढंगले हेरिएको छ । उक्त दिनलाइ लोकतन्त्रको जित भएको दिनको रुपमा पनि धेरैले हेरेका छन । किनकी लोकतन्त्रको आधार नै निर्वाचन हो । लोकतन्त्रमा निर्वाचनको कुनै विकल्प रहन्न । त्यसमा पनि यो निर्वाचन संविधान निर्माणका हेतुले गरिएको निर्वाचन भएकाले पनि अन्य निर्वाचन भन्दा यस निर्वाचनलाइ बढि नै महत्वका साथ हेरिएको थियो । बिभिन्न चुनौतिका बावजुद पनि शान्तिपूर्ण ढंगले यस निर्वाचनलाइ सम्पन्न गराउन राजनीतिक दल नेपाल सरकार र नेपाली जनताको महत्वपूर्ण योगदान रहेको छ । निर्वाचन प्रतिको नेपाली जनताको चाहनाले प्रष्ट रुपमा नेपाली जनताको शान्ति र संविधान प्रतिका प्रवल चाहना लाई उजागर गरेको छ । जनता लोकतन्त्र प्रति कतिधेरै प्रतिवद्घ छन भन्ने कुरा निर्वाचनमा भएको जनसहभागिताबाट सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ नेकपा–माओवादी लगायतका बहिष्कारवादी दलहरुले पनि अव ‘ऐना नै हेरिसके पछि पानिको छाया हेर्न तिर लाग्दैनन भन्ने विश्वास गर्न सकिन्छ ’। न्वारन देखिको बल लगाउदा पनि निर्वाचन भााड्न ,विथोल्न र बहिष्कार गर्न नसकी निर्वाचन सम्पन्न हुनु नै त्यसको गतिलो प्रमाण हो ।प्रजातन्त्र पुर्नस्थापना पछिकै बढी प्रतिशत मत खस्नुले उक्त प्रमाणलाइ अझ बढि बलियो बनाइदिएको छ ।
नेपाली जनताले आफुहरु हत्या,हिंसा र आतंङ्क हैन शान्ति र संविधानको पक्षमा छौं भन्ने कुराको ज्वलन्त उदाहरण निर्वाचनमा अभुतपूर्व ढंगले भाग लिएर पेश गरेका छन । तसर्थ अवको जनचाहना भनेको शान्ति र संविधान बाहेक अरु केहि रहेनछ भन्ने कुरा बुझ्न जरुरि भएको छ । केहि दिन अघि आफ्नो दश दिने हड्तालको पहिलो दिन विबिसी नेपाली सेवालाइ अन्तवार्ता दिदै वैद्यवाले भनेका थिए –‘जनताले हाम्रो बन्द हड्ताललाइ समर्थन गरेका छन ,हाम्रोबहिष्कार आन्दोलन सफल हुन्छ ’। मलाइ त्यतिखेर अन्तवार्ता सुन्दा सुन्दै हाासो उठेको थियो । म निर्वाचन सम्पन्न भए पश्चात वैद्यबा लाइ जवाफ दिन्छु भनेर सोचिरहेको थिए । आज वहाालाई जवाफ दिने बेला भएको छ –वैद्यवा नेपाली जनता तपाइको बन्द हड्ताललाइ समर्थन गर्न हैन निर्वाचनमा मत जाहेर गर्न आतुर थिए । कुरा यतिमात्र होकि तपाइले जनभावनालाइ बुझ्न सक्नु भएन र जवर्जस्ती आफ्ना विचारहरु लाद्न खोज्नुभयो । आम जनता त निर्वाचनकै पक्षमा छन भन्ने कुरा तपाइले त्यतिखेर नबुझेपनि निर्वाचन पश्चात पक्का बुझ्नु भयो भन्ने लाग्छ । नबुझेको भएपनि मुलुक र जनताको खातिर बुझ्नु जरुरि छ । किनकी जनताको लागि राजनीति गर्ने भन्नेहरुले जनताका भावना नै बुझेनन भने कसका लािग राजनीति गर्ने हो खै ? हिजो जनभावना नबुझेकै कारण २३० बर्षे राजतन्त्रको समाप्ति भएको घटना नै बिर्सने गरि तपाइको सुद्घी त पक्कै हराएको छैन । जनचाहनालाइ नबुझि खालि आफ्ना बिचारहरु जवर्जस्ती जनतालाइ लाद्न खोज्नु नै वैद्य माओवादीको भुल थियो । तर ज्ञात अज्ञात रुपमा हिजो गल्ति गरेको भएता पनि आज सच्चिनु पर्ने आवश्यकता रहेको छ । आफ्ना गल्तिहरुलाइ सच्याइ बार्ता र सहमतिका माध्यमबाट पुन नेपाली मुल राजनीतिमा बैद्य माओवादी हरु आउन भन्ने नै आम नेपाली जनताको चाहना रहेको छ । मुलुकमा संविधान सभाको निर्वाचन सम्पन्न हुनु नै सबैथोक भने पक्कै होइन । किनकी निर्वाचन सम्पन्न भयो भन्दैमा गत संविधान सभा निर्वाचनबाट संविधान बन्न नसक्नुको तितो यथार्थ पनि भुल्नु हुन्न । तसर्थ अवका दिनमा नेपाली राजनीतिमा बैद्य माओवादीको भूमिका नै रहन्न , वैद्य माओवादीको कुनै अस्थित्व नै छैन, उनिहरु राजनीतिक मुल एजेन्डामा हार खाइसके भनेर उनिहरुलाइ निषेध गर्नु पर्छ भन्नु भने पक्कै राम्रो होइन । नेकपा –माओवादी लगायतका तेत्तिस दलहरु हामै्र राजनीतिका एउटा अंश हुन । यिनलाइ पाखामा राखेर अथवा भनौ अलग्याएर वेवास्ता गरेर संविधान लेख्न सकिन्छ जारी गर्न सकिन्छ भन्ने पनि सोच्नु गलत हुन्छ । भलै आज उसले उठाएका मुद्घाहरुलाइ इतिहासले गलत सावित गरिदिए होलान तर नेपाली राजनीतिमा उनिहरुको कुनै स्थान नै रहन्न भन्ने बिषयलाइ चर्चामा ल्याइनु पनि त्यति उपयुक्त नहुन सक्छ । यो मुलुकमा सबैखाले बिचार बोकेका राजनीतिज्ञहरुको उतिकै खााचो रहेको छ । संविधान सभाको निर्वाचन त सम्पन्न भयो अब केहि दिनमा मतगणना पनि सकिन्छ । कुन –कुन दलले के कस्तो स्थान पाउछन त्यो त हेर्न नैं बाकि छ । तर संग संगै अर्कोकुरा पनि भुल्नु हुन्न कि भोलिका दिनमा संविधान निर्माण गर्ने शिलिशिलामा कयौ कठिनाइहरु आउन सक्छन । कुनै पनि दलले दुइ तिहाइ बहुमत ल्याउने सम्भावना देखिन्न । यस्तो परिस्थितीमा दलहरुको आपसी सहमति बिना संविधान बन्ने कल्पना सम्म पनि गर्न सकिन्न । । यस्तो जटिल परिस्थितिमा केहि दललाइ यो प्रकृयाबाट पूर्ण रुपमा पाखामा राखेरै संविधान निर्माण गर्न सकिन्छ भन्ने सोच्नु पनि शायद उपयुक्त हुन्न । तसर्थ सम्भव भएसम्म वैद्य माओवादीलाइ पनि कुनै न कुनै प्रकृया बाट संविधान सभामा उपस्थित गराइ संविधान निर्माण कार्यमा सहभागि बनाउने । सम्भव भएन भने पनि प्रष्ट कुरा राखि वैद्य माओवादी लगायतका दललाइ सहयोग गर्न आव्हान गर्ने । यो नै नयाा निर्माण हुने सरकार र आगामि संविधान सभाको दायित्व हो ।
वैद्य माओवादीको लागि अन्तिम विकल्प के हो भने यदि साच्चिकै जनताको मन जित्ने र समर्थन प्राप्त गर्ने हो भने , पाखामा बसेर भएपनि संविधान निर्माणमा सहज भुभिका निर्वाह गर्ने,पहलकदमी गर्ने,खवरदारी गर्ने काम गर्नु जरुरी छ । आम जनतालाइ बम र बारुदले लिएको आतंकको सातो फर्काउने यो मात्र एउटा उपाय हो तसर्थ वैद्यवा यदि संविधान निर्माणको लागि खवरदारी गर्ने मोर्चा बनाउनु हुन्छ भने म पंत्तिकार स्वयं तपाइको मोर्चाको एउटा कमान्डर हुन तयारी छु । त्यतिखेरको तपाइको आन्दोलनमा जनताले तपाइलाइ साथ र समर्थन दिनेछन । अन्यथा हिजोका दिनमा झै बन्द,हड्ताल र हिंसाको माध्यमबाट तपाइ जनसमर्थन बटुल्न खोज्नुहुन्छ भने पु:न तपाइको आन्दोलन तुहिने निश्चित छ । पहिलो संविधाान सभामा झै सत्ता र कुर्चिको हानथापमा संविधान बनाउन अन्य राजनीतिक दलका नेताहरु इमान्दार भएनन भने त्यतिखेर वैद्य माओवादी लगायतका दलहरुले संविधान निर्माणका लागि खवरदारी गर्नुपर्दछ । त्यतिखेरको लागि आजैदेखि तयार हुनुहोस मेरो अग्रिम शुभकामना । अन्यथा यसरि गठन भएको संविधान सभाले संविधान बनाउनै सक्दैन भनेर ठोकुवा गर्दै पुन: विध्वंसात्मक आन्दोलन तिर लाग्नु भयो भने त्यतिखेर पनि तपाइलाइ जन समर्थन रहन्न ।
बादलजीले मतपेटिकामा घन प्रहार गरि सुरु गरिएको तपाइहरुको आन्दोलन बिभिन्न स्वरुपमा फेरिदा फेरिदा अन्तमा बम र बारुदको बर्षा सम्म पुग्यो । सयौ जनता घायल भए,केहिले ज्यान समेत गुमाए जुन घटनाहरु एकदमै दुखान्त थियो र गैर लोकतान्त्रिक कृयाकलाप थिए । त्यसैले मैले यस अघि पनि भनेको थिए तपाइका राता टिसर्ट धारी यूवा लाइ संविधान सभाको निर्वाचनको स्वयंसेवक रुपमा खटाउनुस । पून: एक पटक यो आग्रह पनि गर्न चाहन्छु कि तपाइका दलका यूवा दस्तालाइ संविधान निर्माणको लागि पहरेदारी गर्न खवरदारी गर्नका लागि तयार गर्नुस । निर्वाचनको विकल्प छैन भन्ने थाहा हुदा हुदै पनि आफ्ना गलत मुदाहरु जवर्जस्ती लाद्न तयारि हुनुभएका तपाइहरुले साच्चैनै नेपाली जनताका लागि र।जनीति गरेको हो भने नेपाली जनताले शान्ति र संविधान मात्र चाहेका छन भन्ने कुरा बुझ्न ढिला भइ सकेको छ । नेपाली जनतालाइ शान्ति र संविधान दिनको लागि पाखैमा बसेर भएपनि तपाइको दलले बिशेष भुभिका खेलोस भन्ने नै आज आम नेपाली जनताको चाहना रहेकोछ ।
राजनीतिमा कहिले कााहि हार स्विकार्न पनि सिक्नु पर्दछ । हिजो पहिलो भएको दल आज तेश्रो हुन पनि सक्छ । हिजो तेश्रो भएको दल आज पहिलो हुन पनि सक्छ । यसरि नै अवका दिनमा वैद्य माओवादीहरुले आफुले निर्वाचन बहिष्कार सवन्धि उठाएको मुद्घा गलत थियो भनेर हार स्विकार्दा पनि सानो हुदैन । त्यसलाइ बैद्य माओवादीहरुको महानता नै सम्झन्छन नेपाली जनताले । निर्वाचन विरोधी कृयाकलाप गलत थियो त्यसमा पनि जनतालाइ त्रसित तुल्याइ आर्तक श्रृजना गर्नु गलत थियो भन्ने वास्तविकता लाइ नेकपा माओवादीले मनन गर्नुजरुरी भएको छ । अन्यथा नेकपा माओवादीलाइ आगामि दिनमा जनताले पत्याउने पनि कुनै आधार रहन्न । मुख्य कुरा त यसपालीको निर्वाचनमा आव्हान गरेको हड्तालको बावजुद पनि आफ्नो जीवनको कुनै परवाह नगरि निर्वाचनमा होमिएका जनताबाट के सन्देश नेपाली समाजमा गएको छ भने नेपाली जनता बन्द हड्तालको समर्थनमा हिजो पनि थिएनन,आज पनि छैनन र भोलि पनि रहन्नन । यसले नेपालको इतिहासमै प्रतिस्थापित गरेको कुरा चााहि के हो भने जनता जनार्दन नै सबैथोक हुन । इतिहासका हरेक मोडमा जनभावनालाइ बुझ्न सक्ने राजनीतिज्ञहरु नै असलि राजनीतिज्ञ कहलिनेछन । अवका दिनमा शायदै जुनसुकै दलले बन्द हड्ताल आयोजन गर्दा पनि हजार पटक सोचेर मात्र गर्लान । त्यसैले गत मंसिर ४ गतेको दिनलाइ वैद्यवाको नैतिक वैद्यताको अन्त भएको दिन , लोकतन्त्रको जित भएको दिन वा जे भने पनि यथार्थमा चाहि नेपाली राजनीतिमा वैद्यवाले खेल्नुपर्ने भुमिका परिवर्तन भएको दिन भन्दा फरक नपर्ला ।

प्रतिक्रिया