काठमाडौं, १८ मंसिर । गत संविधानसभा निर्वाचनमा नेता गोविन्दराज जोशी पार्टीको नीतिविरुद्ध लागेको आरोप तनहँुका नेता तथा कार्यकर्ताले लगाएका छन् । कांग्रेस क्षेत्रीय समिति तनहुँ २ ले पूर्वमन्त्री एवं कांग्रेस नेता जोशीलगायत १० जना जिल्लास्तरीय नेता कार्यकर्तालाई ४ मंसिरको निर्वाचनमा पार्टीहितविपरीत कार्य गरेको आरोप लगाउँदै अनुसाशनको कारबाहीको माग गरेको छ ।
तनहुँ २ नम्बर क्षेत्रीय समितिको १३ मंसिरमा बसेको बैठकको निर्णयअनुसार, पूर्वमन्त्री तथा पूर्वसहमहामन्त्री जोशी, पूर्वसांसद अमरराज कैनी, पूर्वजिल्ला पार्टी सभापति रघुनाथ पौडेल, पूर्वसभासद पार्वती थापालगायत व्यक्तिले कांग्रेस उम्मेदवारलाई हराउन सक्रिय रहेका थिए । त्यसै कारण उनीहरूलाई पार्टीबाट अनुसासनको कारबाही गर्न जिल्ला समितिमा सिफारिस गरेको बताइएको छ ।
क्षेत्रीय सचिव मोहन गिरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कांग्रेस नेता जोशीलगायत व्यक्तिहरूले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन विपक्षी दल नेकपा एमाले र स्वतन्त्र उम्मेदवारको प्रचारप्रसार गरेका थिए । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसको उम्मेदवारको दाबी गरेका जोशीलाई पार्टीले टिकट नदिएपछि उपसभापति रामचन्द्र पौडेलविरुद्ध तरुणदल सदस्य पूर्णबहादुर गुरुङलाई उनले उठाएको आरोप पनि लगाइएको छ ।
तीनवटा क्षेत्र मध्ये तनहुँमा ३ बाट कांग्रेस उम्मेदवारले हार बेहोर्नुमा पनि उनीहरूकै कारण भएको आरोप पनि लगाइएको छ ।
प्रतिक्रिया