निर्वाचन खर्चको विवरण माग

Elecatation Commisationकाठमाडौं, १८ मंसिर । संविधानसभा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगले ३५ दिने म्याद तोकेको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनु पर्नेछ । आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधानअनुसार निर्देशन दिएको जानकारी दिए । आयोगले निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारलाई प्रतिव्यक्ति अधिकतम १० लाख र समानुपातिकतर्फका उम्मेदवारलाई प्रतिव्यक्ति १ लाख रूपियाँ खर्चको सीमा तोकेको थियो ।
तर, अधिकांश ठूला दल तथा तिनका उम्मेदवारले त्यसलाई लत्याउँदै चुनाव प्रचारमा बढी खर्च गरेको आरोप उनीहरूलाई लागेको छ । संविधानसभा निर्वाचनमा १ सय २२ राजनीतिक दलबाट प्रत्यक्षतर्फ ६ हजार १ सय २७ र समानुपातिकतर्फ १० हजार ७ सय ९ उम्मेदवार सहभागी थिए । उम्मेदवारले तोकिएको हदभन्दा बढी खर्च गरे वा विवरण पेस नगरे खर्च बराबरको थप रकम जरिवाना गर्ने, अस्वाभाविक खर्च वा बढी खर्च गरेको देखिए त्यस्तो व्यक्ति तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्ष कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ । खर्च विवरण नबुझाएको वा बढी खर्च गरेको व्यक्ति पुन: उम्मेदवार भए उसको उम्मेदवारी स्वत: रद्ध हुने कानुनी व्यवस्था छ ।
निर्वाचन अध्यादेश, ०७० को दफा ६९ र संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, ०७० को दफा ९६ मा चुनावमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारले परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले सोमबारै राजनीतिक दल तथा उम्मेदवारलाई आफूले टाँसेको पर्चा हटाउनसमेत म्याद तोकेको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन परिणाम घोषणा भएको ६० दिनभित्र आफूले टाँसेका पर्चा, पोस्टर उप्काएर सफा गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया