राष्ट्रपति फेर्नुपर्ने पक्षमा नेपाल र भट्टराई

काठमाडौं : एमाले र एमाओवादी नेताहरूले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने मागलाई चर्को रूपमा उठाउन थालेका छन् । एमालेका माधवकुमार नेपाल र एमाओवादीका डा. बाबुराम भट्टराईले पुरानो संविधानसभाबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति अनन्तकालसम्म रहन नसक्ने जिकिर गरेका छन् ।
शनिबार रौतहट पुगेका एमाले नेता नेपालले राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई परिवर्तन गर्नुपर्ने बताए । ‘फ्रेस म्यान्डेटका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुनुपर्छ, पुरानै शैलीले अब चल्दैन,’ नेपालले भने ।
एमाओवादी नेता भट्टराईले पनि जनताको म्यान्डेटलाई मान्य हो भने राष्ट्रपति परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
एमालेका नेताहरूले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्ने धारणा राखे पनि पार्टीले औपचारिक धारणा बाहिर ल्याएको छैन । एमाओवादीले भने राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने औपचारिक धारणा नै शनिबार बाहिर ल्याएको छ । पार्टी कार्यालयकोटेश्वरमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्ने धारणा आºनो पार्टीको रहेको बताए । भने, ‘नयाँ जनादेशप्राप्त भएको मान्ने हो भने राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्छ ।’
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको विषयमा नअल्झिन आग्रह गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई तत्काल चलाउन नहुने महामन्त्री सिंहको भनाइ छ ।
उनले झिनामसिना कुरा छाडेर सहमतीय सरकार बनाएर नयाँ संविधान बनाउने जिम्मेवारीमा लाग्न सबैलाई आग्रह गरे । ‘अहिले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने कुरामा धेरै जोड दिनु हुँदैन,’ उनले भने, ‘सहमतीय सरकार बनाई नयाँ संविधान बनाउन जोड दिनुपर्छ ।’ राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न एमाले र एमाओवादीले दबाब दिइरहेका बेला कांग्रेसका महामन्त्री सिंहले सो विषयलाई चलाउन नहुने बताएका हुन् । (सौस)

प्रतिक्रिया