काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको विषयमा नअल्झिन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर एकका मतदातासँग धन्यावाद–ज्ञापन गर्न आज (शनिबार) आयोजित कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई तत्काल चलाउन नहुने बताए । उनले झिनामसिना कुरा छाडेर सहमतीय सरकार बनाएर नयाँ संविधान बनाउने जिम्मेवारीमा लाग्न सबैलाई आग्रह गरे ।
‘अहिले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने कुरामा धेरै जोड दिनु हुँदैन,’ उनले भने, ‘सहमतीय सरकार बनाई नयाँ संविधान बनाउन जोड दिनु पर्छ ।’
राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न एमाले र एमाओवादीले दवाव दिई रहेका बेला कांग्रेसका महामन्त्री सिंहले सो विषयलाई चलाउन नहुने बताएका हुन् ।
उनले नयाँ संविधान सहमतिमा बनाउनु पर्ने पनि दोहर्याए । ‘नयाँ संविधान सहमतिको दस्तावेज हो,’ उनले भने, ‘सहमतिमै निर्माण गर्नु पर्छ ।’ सिंहले सहमतिमा संविधान बनाउन नसकिए प्रक्रियामा प्रवेश गरेर दुई तिहाई बहुमतका आधारमा नयाँ संविधान दिनुपर्ने बताए ।
जनताले दिएको मत परिणामलाई एमाओवादीले अस्वीकार गरेकोमा समेत महामन्त्री सिंहले आपत्ति जनाए । ‘जनताले दिएको जनादेशलाई अस्वीकार गर्न पाईदैन,’ उनले भने, ‘एमाओवादीले जनमत अस्वीकार गरेर जनताको अपमान गरेको छ ।’
उनले एमाओवादीलाई संविधानसभा अस्वीकार गर्ने भनेर दिएको अभिव्यक्ति गैर जिम्मेवार र गैर राजनीतिक भएको बताए ।
प्रतिक्रिया