काठमाडौं : नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि : एसियाली विकास बैंक (एडिबी) ले दुई अर्ब नौ करोड १० लाख सहयोग गरेको छ ।
सम्झौतामा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासैनी र बैंकका कन्ट्री डाइरेक्टर केनिची याकोहोमाले हस्ताक्षर गरेका छन् । सो रकम सुनकोसी दोस्रो एक हजार एक सय ११ मेगावाट, दूधकोसी तेस्रो पाँच ३६ मेगावाट क्षमताको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पार्नका लागि खर्च गरिने छ । यस्तै दूधकोसी तिन सय मेगावाट आयोजनाको इन्जिनियरिङ अध्ययनका लागि खर्च गरिने छ । यस्तै बर्दघाट गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि अध्ययन गरिने छ । सरकारले अगाडि सारेको १० वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्नका लागि निरन्तर रुपमा सहयोग गरिएको बैंकका कन्ट्री डाइरेक्टर योकोहामाले बताए । ती आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मुलुकका जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि एसियाली विकास बैंकले निरन्तर सहयोग गरिराखेको बताउँदै अर्थमन्त्रालयका सहसचिव मरासैनीले यो सहयोग महत्वपूर्ण रहेको बताए । (सौस)
प्रतिक्रिया