काठमाडौं, १५ मंसिर । राजधानीको बुद्धनगरस्थित स्वप्नवाटिका कलेज नियमविपरीत ठेक्कामा सञ्चालन भइरहेको पाइएको छ ।
एसभी एकेडेमीको नाममा परिचित स्वप्नवाटिका कलेज सार्वजनिक कलेजका रूपमा दर्ता भए पनि नियमविपरीत ठेक्कामा सञ्चालन भइरहेको छ । एसभी एकेडेमीलाई ०६६ सालदेखि अरुण कँडेल अध्यक्ष रहेको रिफ फाउन्डेसनले ठेक्कामा लिएर सञ्चालन गर्दै आएको हो ।
एसभीलाई रिफले ठेक्कामा लिएर चलाउन थालेपछि यसको प्रमुख कार्यकारी नवराज पोखरेल छन् । प्रतिक्रिया लिन खोज्दा पोखरेल आफू मिटिङमा रहेको भन्दै पन्छिएका छन् । उक्त कलेजमा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई संस्थापक अध्यक्ष र संघीय समाजवादीकै उपाध्यक्ष रकम चेम्जोङ सञ्चालक समिति अध्यक्ष छन् । संस्थापक अध्यक्ष राई र सञ्चालक समितिका अध्यक्ष चेम्जोङसँग पनि सम्पर्क हुन सकेन ।
कलेज व्यवस्थापननिकट स्रोतले भने रिफका कार्यकारी नवराज पोखरेलले मनोमानी गरिरहेको जनाएको छ । ‘उनीहरूले कलेज चलाउन भवन भाडामा लिएका हुन्,’ स्रोतले भन्यो, ‘भाडा पनि तिरिरहेका छैनन् ।’
कलेज रिफले ठेक्का चलाउने बेला सेयरका नाममा असुलेको लाखौँ रकम हिनामिना भएको पनि खुल्न आएको छ । कलेजकै अध्यापकका साथै चिकित्सक, व्यवसायीलगायत विभिन्न क्षेत्रका दुई दर्जन व्यक्तिबाट सेयरको नाममा लाखौँ उठाएर ठगी गरेको पाइएको छ । सञ्चालकले प्रतिव्यक्ति १ लाखदेखि ४ लाखका दरले शेयरको नाममा रकम असुलेको र अहिलेसम्म कुनै प्रमाणपत्रसमेत नदिएको पीडितहरूको दाबी छ ।
पीडितका अनुसार कलेजलाई व्यवस्थित गर्ने भन्दै व्यवस्थापन पक्षले गोविन्द अधिकारी, रमेश शुभेच्छु, शैलेन्द्र मानन्धर, विदुर भुर्तेल, देवदत्त ढकाल, अरुणराज कुवर, अनन्ता खनाल र विकास लम्सालसँग ४ लाखका दरले उठाएको थियो । त्यस्तै कलेजले उदयबहादुर बुढाथोकी, भगवती नेपाल, ईश्वर गजुरेलसँग प्रतिव्यक्ति २ लाख ५० हजार र शाकिर हुसेनसँग २ लाख लिएको थियो । कलेज व्यवस्थापनले रकम लिए पनि सेयर प्रमाणपत्र भने अझै उपलब्ध गराएको छैन ।
संस्थापक अध्यक्ष राईसँग पटक–पटक प्रमाणपत्र माग गर्दा पनि ‘केही दिनमा हुन्छ’ भन्दै आएको एक अध्यापक बताउँछन् । सेयरधनीलाई कलेज व्यवस्थापनले पैसा लिएको ‘रिसिप्ट’ मात्र उपलब्ध गराएको ती अध्यापकले बताए । कलेज मनोमानी रूपमा चलाइरहँदा पनि संस्थापकले हस्तक्षेप नगरेको पीडितको गुनासो छ ।
त्यसो त कलेजले लगभग तीन दर्जनभन्दा बढी अध्यापक तथा कर्मचारीलाई लामो समयदेखि तलबसमेत दिएको छैन । तीन शिक्षकले २०६८ देखि र अरूले ०६९ को दसैँदेखि तलब नपाएका हुन् । दुई वर्षदेखि तलब नपाउनेमा पाटन संयुक्त क्याम्पसका उपप्राध्यापकसमेत रहेका गोपाल खड्का, एसभीको स्थापनाकालदेखि अध्यापनरत नेपाली विषयका रमेश शुभेच्छु, पत्रकारिता विषय पढाउदै आएका कीर्तन अधिकारी, गोबिन्दराम अधिकारी छन् । यस्तै, कलेजका एकाउन्टेन्ट शैलेन्द्र मानन्धर, डिसिप्लिन इन्चार्ज एवं लाइब्रेरीयन वस्तीराम लामाले पनि तलब नपाएको स्रोत बताउँछ ।
अध्यक्षसँग तलबको माग गर्दा उनले आफूले ठेक्कामा दिएको सञ्चालकलाई भनेको र सेवाबापतको रकम दिलाउने आश्वासन दिने गरेको एक अध्यापक बताउँछन् । उनीहरूले दसैअघि सामूहिक रूपमै अध्यक्षलाई भेटी तलब नपाएको बारेमा लिखित जानकारी गराएको स्रोतले जनाएको छ । तलब पाइने आसमा कलेज छाड्न नसकेको उनीहरू बताउँछन् ।
व्यवस्थापन विवादको सोझो मार विद्यार्थीमा परेको छ । गत असोजमा सञ्चालित बिए प्रथम वर्षको परीक्षाबाट कलेजकै लापरबाहीका कारण २५ विद्यार्थी वञ्चित भएका छन् । परीक्षा फारम कलेजले सम्बन्धित ठाउँमा नपुर्याएको कारण परीक्षाबाट वञ्चित हुनुपरेको भन्दै आक्रोशित विद्यार्थीले कलेजमा तोडफोड गरेका थिए । परीक्षामा सामेल हुन नपाएपछि विद्यार्थी अदालतसमेत पुगेका थिए । त्यस्तै, अध्यापक तथा कर्मचारीहरू पनि अदालतको ढोका ढकढक्याउने तयारीमा रहेको स्रोत बताउँछ ।
प्रतिक्रिया