काठमाडौं, १५ मंसिर । पहिलो संविधानसभा चुनावबाट चौथो शक्तिका रूपमा उदाएका मधेसी दल यसपटक आफ्नो साख जोगाउन असफल भएका छन् । प्रत्यक्ष र समानुपातिकमा गरी ८३ सभासद् पहिलो संविधानसभामा पुर्याउन सफल मधेसी दलका तर्फबाट यसपटक भने ५० जनाले मात्र प्रतिनिधित्व गर्ने देखिन्छ ।
पहिलो संविधानसभामा मधेसी दलका नेताहरू संविधान निर्माणभन्दा पनि सरकार बनाउने र ढाल्ने खेलमा निर्णायक रूपमा देखिएका थिए । उनीहरूले सरकारबाहिर रहँदा एक मधेसी स्वायत्त प्रदेशको माग चर्काए पनि सरकारमा जाँदा भने त्यसको बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो । पहिलो संविधानसभा चुनावमा उपेन्द्र यादव नेतृत्वको दल फोरम नेपालले ५२ सिट जितेको थियो । यसपटक उक्त पार्टीले प्रत्यक्षतर्फ २ सिट मात्र हात पारेको छ । सोही पार्टी फुटेर बनेको विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले ४ स्थान जितेको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले पनि ४ सिट हात पारेको छ । सद्भावना पार्टीले १ र तराई मधेस सद्भावना पार्टीले १ क्षेत्रमा जितसँगै मधेसी दलले प्रत्यक्षमा जम्मा १२ सिट सुरक्षित गरेका छन् ।
०६४ को चुनावमा चर्चाको शिखरमा पुगेर विजयी भएका फोरम नेपालका अध्यक्ष यादवले यसपटक मोरङ–५ बाट पराजय भोगेका छन् । सुनसरी–५ मा भने फोरम लोकतान्त्रिकका उम्मेदवर जाफर अन्सारीभन्दा ३८३ मत बढी ल्याएर यादवको जित भएको छ । यादवको पक्षमा ७२६४ र अन्सारीको पक्षमा ६८८१ मत खसेको थियो । फोरम नेपालबाट सुनसरी–५ मा यादव स्वयं र कपिलवस्तु–५ मा अभिशेष प्रताप शाहले विजय हासिल गरे ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार मोरङ–७ मा कांग्रेसका डा. शेखर कोइरालासँग पराजित भए भने सुनसरी–३ मा ३६२ मतान्तरले विजय भएका छन् । गच्छदारले १७५२४ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले १७१६२ ल्याइन् । फोरम लोकतान्त्रिकबाट कैलाली–१ मा जनक राजचौधरी, कैलाली–३ मै रामजनम चौधरी र रौतहट–२ मा मो.मुस्ताक आलम विजयी भएका छन् ।
तमलोपाबाट प्रत्यक्षतर्फ जित्नेमा कपिलवस्तु–३ मा बृजेश गुप्ता, रूपन्देही–६ मा सर्वेन्द्रनाथ शुक्ल, रूपन्देही–७मा कमलेश पुरी गोस्वामी र सर्लाही–५ मा जगीलाल यादव छन् । तमलोपा अध्यक्ष ठाकुरले भने पराजय भोगेका छन् । सद्भावना पार्टीबाट धनुषा–४ मा सञ्जयकुमार शाहले १ सिट सुरक्षित गर्न सके भने तराई मधेस सद्भावना पार्टीबाट सर्लाही–४ मा महेन्द्रराय यादव विजय भए ।
पहिलो संविधानसभामा मधेसी दलका तर्फबाट प्रत्यक्ष र समानुपातिकमा गरी ८३ सभासद् थिए भने अहिलेको चुनावमा प्रत्यक्षमा र समानुपातिक गरी ५० जना सभासद् हुने देखिएको छ । समानुपातिकतर्फ फोरम लोकतान्त्रिकले १०, फोरम नेपालले ८, तमलोपाले ७, सद्भावनाले ५, राष्ट्रिय मधेस समाजवादीले ३, तराई मधेस सद्भावनाले २, फोरम गणतान्त्रिकले १, संघीय सद्भावनाले १ र मधेस समता पार्टीले १ सिट पाउने देखिन्छ ।
प्रतिक्रिया