पशुपति संग्रहालय खोलिने

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले चाँडै पशुपति सङ्ग्रहालय सञ्चालन गर्ने भएको छ ।
सो स्थानमा रहेको महास्नान घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको हो । चोक तथा चारैतिर प्रतीक्षालय भएको तीनतले सो घरको तीनवर्षअघि जीर्णोद्धार गरिएको थियो । करिब दश हजार वर्गफिटको क्षेत्रफलमा फैलिने सङ्ग्रहालयमा पशुपतिनाथको उद्भवसम्बन्धी कथा प्रसङ्गका भित्तेचित्र, सो क्षेत्रमा असरल्ल परेका विभिन्न प्रस्तर तथा काष्ठकलासम्बन्धी मूर्ति र वृत्तचित्रसमेत राखिने कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिए । सो कार्यका लागि विस्तृत अध्ययन भइरहेको र छिट्टै काम अघि बढाइने भएको छ । सङ्ग्रहालयका आसपासमा चिया तथा कफी खाने व्यवस्थासहितको क्याफे तथा नजिकैमा शौचालयसमेत निर्माण गरिने छ । यसैबीच पशुपति क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिरको बारेमा सर्वसाधारणलाई जानकारी दिन ‘पशुपति प्रकाशन’ गर्न लागिएको छ । डा. टन्डनका अनुसार वाग्मतीमा हुने दाहसंस्कार, वाग्मतीको महत्वका विषयका साथै पशुपतिको प्रदक्षिणा र पशुपति वैभव लगायत मौलिक र अनुदित साहित्यिक कृति प्रकाशन गृहकार्य सुरु गरिने छ । (सौस)

प्रतिक्रिया