पहिला राष्ट्रपतिको विवाद टुग्याउनु पर्छ : पोखरेल

Prakashsharan-Mahat-2काठमाडौं, १५ मंसिर । एमालेका सचिव शंकर पोखरेलले निर्वाचन मार्फत नयाँ जनादेश आईसकेकाले अब राष्ट्रपतिको विषयलाई पनि सोही अनुसार टुङग्याउनु पर्ने बताएका छन् ।

काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा पोखरेलले नयाँ राष्ट्रपति बनाउने वा अहिलेकै राष्ट्रपति राख्ने भन्ने विषयमा तत्काल सहमति आवश्यक रहेको बताए ।

‘राष्ट्रपति र उपराष्ट्रपतिको विषय जनमतको म्याण्डेट अनुरुप नै टुङग्याउनु पर्छ,’ उनले भने, ‘अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने भए नयाँ आधारमा निरन्तरता दिनु पर्छ ।’

सचिव पोखरेलले एमाओवादीले राखेको संविधान संशोधनको माग उचित नभएको बताए । ‘सहमतीय सरकारका लागि एमाओवादीले राखेको संविधान संशोधनको प्रस्ताव उचित छैन,’ उनले भने, ‘सहमतिका आधारमा संविधान बन्न नसकेन भने बहुमतीय पद्धतिमा जानु पर्छ ।’

कांग्रेसका नेता प्रकाश शरण महतले कम्तिमा पनि संविधान निर्माण नहुन्जेलसम्म सहमतिकै आधारमा सरकार र संविधान निर्माणलाई अघि बढाउनु पर्ने बताए । उनले भने, ‘एमाओवादीले भने जस्तो अहिले नै संविधान संशोधन गरेर पूर्ण सहमतिको कुरा राखिए संविधान फेरि पनि बन्न नसक्दैन ।’

एमाओवादीका नेता देबेन्द्र पौडेलले नयाँ जनमत आईसकेकाले राष्ट्रपतिको विषयमा उठेका विवाद सहमतिमा टुङग्याउनु पर्ने बताए ।

सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले निर्वाचनको परिणाम जस्तो आए पनि त्यसलाई स्वीकारेर संविधानसभामा जाने बताए ।

प्रतिक्रिया