महिला पार्टीका बँधुवा मजदुरजस्ता भए

Durga-Sobसुदुरपश्चिमको डोटीमा जन्मेकी दुर्गा सोबको मस्तिष्कमा दलितहरूप्रति गरिने सामाजिक विभेदका थुप्रै खाटाहरू छन् । आफू हुर्केको समाजमा दलितलाई गरिने सामाजिक विभेद धेरै भोगिन् उनले । उपल्ला जातिका भनिनेहरूले उनलाई छुँदा चोखिन छिठो हाल्थे । एउटै समाजको नागरिक भएर पनि तल्लो जाति भनेर आफूमाथि गरिएको विभेद सम्झँदा अहिले पनि उनको मन दुख्छ । बाल्यकालमा स्कुल जाँदा साथीसंगीले गर्ने छोईछिठो र गाउँघरमा गरिने तल्लोस्तरको ब्यवहारले उनको मन त्यसै पोलेर आउँथ्यो । बाल्यकालमा भोगेका उनको त्यो विभेदका तीता अनुभूति अहिले पनि मस्तिष्कमा ताजै छ । उति बेलै उनको मनमा लाग्थ्यो, जातपातको नाममा हुने सामाजिक विभेद कहिले अन्त्य होला ? म पढेर समाजको यो कुसंस्कारविरुद्ध आवाज उठाउने छु । आज उनको सपना पूरा भएका छन् । तर, उनले सोचेको जस्तो विभेदरहित समाज भने निर्माण भएको छैन । जात, धर्म, वर्ग र लिंगको आधारमा कोही कसैसँग हेपिनु नपर्ने समाज निर्माणका लागि उनी यतिबेला क्रियाशिल छन् । आफ्ना भोगाइ र अभियानबारे सौर्य दैनिकले गरेको संवाद :
मैले बाल्यकालमा जातीय आधारमा गरिएको धेरै विभेद देखेँ । जहाँ जन्मे हुर्कें, त्यो समाजमा भोगेको जातीय विभेदको छाप मेरो मनमा कहिल्यै नमेटिने गरी बसेको छ । समाजमा धेरैपटक हामीलाई छोएको कारण उपल्लो जातका भनिनेहरूले छिटो हालेको सम्झँदा अहिले पनि मन दुख्छ । म पढ्ने स्कुलमा म मात्र केटी थिएँ, सबै केटा पढ्थे । सुदुरपश्चिम जहाँका मान्छे अहिले पनि धेरै अवसर र चेतनाबाट वञ्चित छन् । त्यो समाजमा २०औँ वर्ष पहिलाको चेतना सबैले सहजरूपमा अनुमान लगाउन सक्छन् । म त्यहि समाजको एउटा पात्र हुँ ।
समयसँगै मुलुकमा आएको राजनीतिक परिवर्तनले मलाई पनि लाग्यो सधैँ हामी किन तल्लो जातको नाममा हेपिने, आखिर हामी पनि यो देशको नागरिक हौँ । देशको नागरिकको हैसियतले अरुले जे जे सेवासुविधा उपभोग गर्छन् त्यो अधिकार हामीमा पनि छ । समाजमा हामी तल्लो जाति होइन एक सचेत नागरिक भएर बाँच्न पाउनुपर्छ । आफ्नो बुझाइ र अध्ययन समाज परिवर्तनमा खर्चने निधो गरेर संस्था खोलेँ । अखिर केही गर्न एउटा संगठित सँस्थाको आवश्यक थियो । सुरुका दिनहरू सहज थिएनन् । शिक्षा, चेतना, आर्थिक कठिनाइ, तल्लो जातको हुँ भन्ने हिन मानसिकता धेरै थिए । कामको सुरुवात महिलाहरूको शैक्षिक, सामाजिक चेतना, आर्थिक विकासजस्ता
कामबाट गर्‍यौँ ।
मुलुकमा आएको राजनीतिक परिवर्तनले पनि यो क्षेत्रमा लाग्न सहज बनायो । प्रजातन्त्रको आगमसँगै सबै वर्ग र समुदायका मान्छेले आ–आफ्नो क्षेत्र र समुदायको मुद्दा उठाउन थाले । मलाई लाग्यो– सदियौँदेखि सामाजिक उत्पीडनमा रहेका हामी चाहिँ किन चुप लागेर बस्ने, म जुन समाजबाट आए त्यो समाजको दलित महिलाले भोगेको उत्पीडन र भोगाइ मेरा लागि प्रेरणा बन्यो । आज जुन अभियानमा लागेकी छु, त्यो सुदुरपश्चिम मात्र होइन सिंगो देशमा दलित महिलाले भोगेको दु:खको प्रतिक हो । बाल्यकालमा आफन्त र मेरो समुदायसँगै मैले भोगेका अपमानजन्य विभेदको दृश्यले मलाई यो अभियानमा लाग्न झक्झकायो । सधैँ सोच्थेँ म ठूलो भएर यस्ता गलत संस्कारविरुद्ध लड्नेछु । बाल्यकालमा आफूले भोगेको र देखेको पीडा मेरा लागि एक प्रकारले प्रेरणा बन्यो । हाम्रो समाजमा आज पनि व्यवहारिक रूपमा जातिभेद जिवितै छ । जातीय विभेदले ग्रसित समाजमा दलित महिलाको अवस्था यति दर्दनाक छ, भोग्नेले मात्र अनुभूति गर्न सक्छ । मैले जे जे बिषयमा कुरा उठाएको छु त्यो मेरो समाजमा मैले भोगेको तीतो अनुभव हो ।
राजनीतीक रूपमा देशले यति ठूलो परिवर्तन गरिसक्यो । तर हामी भने महिलालाई अधिकार चाहियो भनेर सडकमा उत्रन बाध्य छौँ । त्यो समाजको दलित महिलाले कहिले पाउने अधिकार । पढेलेखेका र उपल्लो जाति भनिने महिला त आफ्नो अधिकारका लागि आफ्नै सहयात्रीसँग लड्दै छन् भने दलित महिलाका लागि कसले मागी दिने अधिकार ? यो गम्भीर कुरा हो । नेपाली समाजमा दलितको अवस्था धेरै पछाडि छ, त्योभन्दा दसौँ गुणा पछाडि दलित महिलाको
अवस्था छ ।
आममान्छेलाई भ्रम छ, दलित महिला सुदुरपश्चिम वा दुर्गम ठाउँमा मात्र पछि परेका छन् भन्ने । दलित महिलाको अवस्था हेर्न टाढा जानु पर्दैन, यहि राजधानीको छेउछाउको गाउँमा गएर हेर्ने हो भने उनीहरूको जीवनशैली, चेतनास्तर हेर्दा प्रष्ट हुन्छ, दुर्गमका महिलाको अवस्था कस्तो छ भनेर । अहिले पनि राजधानीमा बस्ने धेरै दलितका छोराछोरी स्कुल जाँदैनन् । गरिबी छ, चेतनाको स्तर कमजोर छ , सामाजिक रूपमा विभेदको सिकार भएर बसेका छन् । तर राज्यको ध्यान त्यता गएको छैन । सामाजिक विभेदले धेरै दलितहरूलाई हिनताबोधले ग्रस्त बनाएको छ । दलित महिला सामाजिक, घरेलु, हिंसामा परेका छन् । बहुविवाह, बालविवाहको सिकार भएका छन् । तर त्यहि वर्गको विकास गर्छु भन्नेहरूको ध्यान दुर्गम स्थानमा मात्र गएको छ । धेरै अघिको कुरा गर्नु पर्दैन, यहि संविधानसभाको निर्वाचनअगाडि नयाँ बानेश्वर जहाँ संविधानसभाको भवन छ, त्यसको वरिपरि रहेको दलित बस्तीमा गएकी थिएँ । धेरै दलित महिलासँग नागरिकता छैन मतदाता नामावलीमा उनीहरूको नाम छैन, हामी बाहिरको कुरा गरेर बसेका छौँ । यो बत्ति मुनीको अँध्यारो भने जस्तै हो ।
दलित महिलाको अवस्था पूर्वदेखि पश्चिमसम्म उस्तै छ । ठाउँअनुसार केही धेरथोर मात्र हो । तराईका दलित समुदाय अहिले पनि पछाडि परेका छन् । त्यो समुदायको महिलाको अवस्था कस्तो होला ? परिवारबाहिरको पुरुषको अनुहार हेर्न वञ्चित छन् उनीहरू । घुम्टोभित्र अनुहार लुकाएर बस्न बाध्य छन् । सामाजिक चेतना, शिक्षा उनीहरूका लागि के हो थाहा छैन । एउटै देशको नागरिक, कसैले राज्यको सबै प्रकारको सुविधा उपभोग गर्ने, त्यहि समाजको अर्को वर्गलाई राज्यले नागरिकका लागि के गर्छ ? भन्नेसम्मको कुरा थाहा नपाउने समाज छ हाम्रो । त्यहि समाजमा बसेर हामी समतामूलक समाजको परिकल्पना गर्दैछौँ । तर, समाजमा नागरिकको अवस्था कस्तो छ ? धरातलमा गएर हेरेका छैनौँ ।
यतिबेला सबै समुदायका जनता सचेत भएका छन् । कसैले थामथुम पारेर दलितलाई आफ्नो अनुकूल चलाउँछु भन्ने भ्रम नपाल्दा हुन्छ । समयसँगै आएको परिवर्तनले दलितमा धेरै कुराले चेतना आएको छ । पहिलाको जस्तो अवस्था अहिले छैन । समाजका लागि आफूले के गर्ने र राज्यले आफ्ना लागि के दिने भन्ने बारे सबैले नबुझे पनि धेरैले बुझेका छन् । देशमा धेरै प्रकारका परिवर्तन भयो । परिवर्तनसँगै महिलाका मुद्दामा केही सुनवाइ भएको छ । त्यो क्रममा केही दलित महिलाको कुरा पनि सुनवाइ भएको छ यो सकारात्मक सोचको संकेत हो । तर, जति हुनु पर्ने हो त्यो भएको छैन । हामी यहि झिनो उपलब्धिमा सन्तोष मानेर बस्ने हो भने योभन्दा अगाडि बढ्न सक्दैनौँ, हामी अगाडि बढ्न चाहन्छौँ । दलितले पनि दललाई चुनौति दिन सक्ने हैसियत बनाएका छन् त्यो हैसियतसम्म दलितको विकास हुनु सकारात्मक कुरा हो । दलितलाई पछाडि पारेर राजनीति गर्न गाह्रो हुन्छ भन्ने मानसिकतामा दल पुगेका छन् । सबैमा इच्छा शक्ति हुने हो भने दलितका सबै समस्या समाप्त हुनेछ ।
अहिलेसम्म जे जति कुरा उठेका छन् त्यसमा केहि आश गर्ने अवस्था छ । अब बन्ने सरकारले हाम्रा आवाजलाई सकारात्मक रूपमा लिने र प्रमुख राजनीतिक दलहरूले अब बन्ने संविधानमा दलित महिलाका आवाजलाई प्राथमिकता दिए भने हामीप्रति न्याय भएको ठान्ने छौँ । फेरि पनि दलितका विषय र दलित महिलाका सवाललाई टालटुल पार्न खोजियो भने त्यसको परिणाम राम्रो हुँदैन । देशको सबै नीतिको मुल नीति भनेको राजनीति हो । त्यो ठाउँमा दलित र दलित महिलाको कुरा कुरामा मात्र सीमित राख्न खोजियो भने अबका दलित चुप लागेर बस्दैनन् । मुलुक परिवर्तनको विभिन्न शृंखलामा दलित र दलित महिलाको पनि लगानी छ । हामी समाजका लागि केही गर्न र राज्यको अंगमा आफूलाई पनि उभ्याउन चाहन्छौँ । यो हामीले नागरिक भएका कारण पाउने नैसर्गिक अधिकार हो ।
देशमा जतिसुकै परिवर्तन भए पनि समग्र महिलाले पुरुषसँग मागेर अधिकार लिनु पर्ने बाध्यता अहिले पनि छ । हामी त्यस्तो गलत संरचना अन्त्य होस् भन्ने चाहन्छौँ । समाजको राजनीतिक परिवर्तनले सबै समुदायको जनताको जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ । तर राजनैतिक उपलब्धि सीमित व्यक्तिको हातमा मात्र होइन सबैको पहँुचमा हुनुपर्छ । समाजमा अहिले पनि समान हैसियत हुँदाहँुदै महिला र दलित भएको कारण महिलाप्रति विश्वास गरिँदैन । आफुभन्दा कम योग्यता क्षमता भए पनि महिलाले पुरुषलाई सम्मान दिनु पर्ने अवस्था अहिले पनि छ । यो सिंगो समाजका लागि दु:खद पक्ष हो र सम्पूर्ण महिलाका लागि बिडम्वना †
यति बेला दु:ख लाग्छ, संविधानसभाको निर्वाचन भयो, एकजना पनि दलित महिलाले प्रत्यक्षमा जितेर आउन सकेनन् । दलित महिलालाई उम्मेदवारी दिने बेला हार्ने स्थानमा उम्मेदवार बनाइयो । दोस्रो पार्टीले जति मेहनत गर्नुपर्ने थियो त्यो गरेन । अब फेरि हामीले समानुपातिकका लागि तीनवटा लडाइँ लडनु पर्नेछ । पहिलो समग्र महिलाका लागि दोस्रो दलितको लागि तेस्रो दलित महिलाका लागि । अहिले पनि महिलाको सामु चुनौति छ । समाजका सबै परिवर्तनमा सहभागी भएर पनि महिलाले आफ्नो अधिकारका लागि अझैँ ढुक्क हुने अवस्था छैन । सिंगो समाज परिवर्तनका लागि लाग्ने तर त्यहि समाजमा आफ्नो हैसियत सुरक्षित भएको महसुस गर्न नपाउनु यहाँभन्दा दु:खद कुरा अरु के हुन्छ ।
नेपालमा जति परिवर्तन भए पनि शक्ति र पहँुच सीमित व्यक्तिको हातमा रह्यो । राजनीतिक परिवर्तनले केही हदसम्म दलितलाई चेतना वृद्धि गर्ने काम गरेको छ । दलितमा आएको सकारात्मक पाटो भनेको राजनीतिक रूपमा संगठित हुनु, शिक्षामा अगाडि बढ्नुजस्ता कुरा हुन् । पछिल्लो समय जसरी समावेशीको मुद्दा अगाडि बढेको छ, ती सबै राजनैतिक परिवर्तनको उपलब्धि हो । दलले चाहेर वा नचाहेर दलितका मुद्दालाई आफ्नो एजेन्डा बनाए । यो दलित समुदायका लागि अगाडि बढ्ने प्रवेश विन्दु हो । तर, व्यवहारिक रूपमा हेर्ने हो भने हाम्रो समाज अहिले पनि समावेशी बन्न सकेको छैन । मलाई कहिलेकाहीँ लाग्छ हामीले खोजेको गणतन्त्र कतै सबै जात, वर्ग र समुदायलाई समेट्न सक्ने बन्ने हो कि भन्ने । राज्यको हरेक निर्णायक तहमा सबै वर्ग र जाति समुदायले प्रतिनिधित्व गर्न सकेको छ कि छैन त्यो प्रमुख कुरा बन्नु पर्छ । यो राज्य र यहाँको व्यवस्था सबै समुदायको हो भनेर सबैले अपनत्व गर्न सकेको छ सक छैन हेर्नु जरुरी छ । ठुल्ठूला कुरा मात्र गरेर समाज र नागरिकको विकास हँुदैन । कुरालाई व्यवहारमा लागू गर्न सकियो भने जे पनि हुन्छ ।
समाजमा अनेकौँ सामाजिक विभेद छन् । राज्यको स्रोत र साधन कसले के कति उपभोग गरेको छ । मूल्यांकन हँुदैन । देशको भैगोलिक अवस्था र जनताको चेतना एवं जीवनस्तर कहाँ छ हेरिँदैन । केही क्षणलाई खुसी पार्न पार्टीहरू सबै कुरा पूरा गर्छौं भन्छन् । तर बोलेको कुरा कसले कति पूरा गरे ? सबैले देखेका छन् । अब दलित वा दलित महिला आश्वासनको पछाडि दौड्ने अवस्थामा छैनन् । हामी आफ्नो अस्तित्व र समाजमा पहिचान बनाउन सबै प्रकारले अगाडि
बढ्न तयार छौँ । समस्या दलितको मात्र होइन, आममहिलाको छ । दलितभित्र पनि दलित महिलाको त अझ बढी छ । कहिलेकाहिँ महिलामाथि भएको हिंसा देख्दा मन साह्रै दुख्छ । उनीहरूको तत्काल जीवनसँगै उनको सिंगो भविष्य सम्झन पुग्छु । मनमा पीडा हुन्छ । कहिले यस्तो विभेद र अभावमा रहेको समाज उन्नत होला भन्ने लाग्छ ।
महिलाको समस्या समाधान नहुनु, महिलाहरू अहिले पनि रक्षाका लागि लड्नु पर्ने अवस्था रहनुमा महिलाबीचमा हुन नसकेको एकता प्रमुख समस्या हो । मलाई लाग्छ, महिलाको चुनौति दलहरूलाई नपुगेको हो कि । यति ठूलो संख्यामा रहेका महिलाको मुद्दा दलहरूले महत्वका साथ लिएका छैनन् । यसको कारण के पनि हो भने राजनीतिक रूपमा महिलाहरू विभाजन हुनु हो । नेपाली महिला पार्टीका बँधुवा मजदुरजस्ता भएका छन् । जति कुरा उठेका छन् प्रभावकारी भएका छैनन् । न महिलाहरूले आफू पार्टी खोल्न सक्छन् न पार्टी छाडेर जान सक्छन् । महिलाहरूले आ–आफ्ना दलमा विषेश दबाब दिन नसक्दासम्म महिलाको अवस्था यस्तै हुनेछ । यदि महिलाले आफ्नो स्थान मागेरभन्दा अधिकारको रूपमा स्थापित गर्ने हो भने सबै महिलाबीचमा एकता जरुरी छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया