राहदानी नपाउँदा विदेश जान समस्या

Passport-Ko-Line-Kailaliधनगढी, १४ मंसिर । राहदानीका लागि निवेदन दिएको लामो समय बित्दा पनि प्रशासन कार्यालये राहदानी उपलब्ध गराउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । राहदानी नपाएपछि विदेश जानेहरु समस्यामा पर्नुका साथै सबैभन्दा बढी अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु बढी प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानीका लागि दिएका सयौं निवेदन थन्किएर रहेका छन् । गएको ८ भदौ देखि कार्यालयमा राहदानीका लागि निवेदन दिएकाहरुले ४ महिना हुँदा पनि राहदानी नपाएको बताएका छन् ।
८ भदौ देखि १४ असोजसम्म संकलन भएका ३३५ राहदानी फारम परराष्ट्र मन्त्रालयको राहदानी विभागमा पठाएको भएपनि विभागले हालसम्म नपठाएर समस्या भएको कैलाली जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका नायवसुब्बा राममूर्ति सिंहले बताए । उनले जिल्लाबाट पठाएका राहदानी पठाइ दिन बारम्बार खबर गरिरहेको तर राहदानी छाप्ने मेसिन बिग्रेकोले तत्काल पठाउन नसकिने भनेर विभागबाट जवाफ आउने गरेको बताए ।
विभागले राहदानी छाप्ने मेसिन बिग्रेकोले तत्काल पठाउन नसक्ने जनाएपछि १५ असोजदेखि राहदानीका संकलीत फारम जिल्लामै थन्क्याएर राखेको नासु सिंहले जानकारी दिए । ‘१५ असोजदेखि बुधबारसम्ममा गरी ४४८ राहदानीका निवेदन संकलित भएका छन् ।
यसअघि पठाएका राहदानी नआएकाले पछिल्लो चरणमा संकलित ४४८ फारम प्रशासन कार्यालयमै थन्क्याएर राखिएका छन्,’ नासु सिंहले भने, ‘राहदानी आइपुग्यो की भनेर कार्यालयमा आउनेको दैनिक भीड लाग्नेगरेको छ ।’ कैलाली जिल्ला प्रशासन कार्यालयमा सुदूरपश्चिमका ९ वटै जिल्लाको राहदानी फारम संकलन हुने र विभागबाट राहदानी आएपछि यहीबाट सम्बन्धीत जिल्लामा पठाउने प्रावधान रहेको छ ।
आवश्यक कागजातसहित राहदानीका लागि निवेदन दिएको महिना दिन बित्दापनि राहदानी नपाएर समस्या भएको धनगढी ४, मनेहराकी संगीता भूसालले बताइन् । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान लाग्नुभएकी भूसालले राहदानी नपाएर जान नपाइने हो की भनेर चिन्ता लागेको छ भनिन् ।
त्यस्तै कैलाली सुखडका बीरेन्द्र लामिछानेले राहदानीका लागि कैलाली प्रशासन कार्यालयमा निवेदन दिएको तीन महिनासम्मपनि राहदानी नपाउँदा आफूलाई विदेश जान अप्ठ्यारो भएको बताए । रोजगारीका लागि खाडीमुलुक जान लागेका लामिछानेले राहदानी नहुँदा भिसा लगाउन समस्या भएको दुखेसो गरे ।
यसअघि राहदानीका लागि निवेदन दिएको ३५ दिनभित्र उपलब्ध गराउने ब्यवस्था थियो । तर, विभागले नै नपठाएपछि कसरी राहदानी दिने प्रशासन कार्यालयका राहदानी फाँटका कर्मचारी भन्छन् । जिल्लाबाटै राहदानी लिनेले ५ हजार राजश्व सहित आवश्यक कागजात तथा विभागबाबाट राहदानी लिने गरी सिफारिस लिनेले १० हजार राजश्व सहित आवश्यक कागजात बुझाउनुपर्ने प्रावधान रहेको राहदानी फाँटका नासु सिंहले जानकारी दिए । उनले डबल राजश्व तिरेर लिनेलाई १ साताभित्र र अन्यलाई कम्तिमा ३५ दिनपछि राहदानी उपलब्ध गराउने भनिए पनि विभागमा राहदानी छाप्ने मेसिन बिग्रेकोले उक्त समयसिमामा सेवाग्राहीलाई दिन नसकेको बताए ।
कार्यालयबाट बारम्बार राहदानीका लागि विभागमा लेखापढी र फोन सम्पर्क भइरहेको छ । मेसिन बनेपछि मात्र कहिलेसम्म जिल्लामा राहदानी आइपुग्छ भन्ने एकीन हुने नासु सिंहको भनाइ छ ।

प्रतिक्रिया