जनकपुरधाम : जनकपुरका व्यापारी भारतीय आलुको बीउ आयात गरी करिब दुई करोड बराबरको कारोबार गरेको छ । सरकराले किसानलाई अनुदानको आलुको बीउ उपलब्ध नगराएकाले यहाँका व्यापारीले किसानको मागलाई ध्यानमा राखी भारतबाट आलुको बीउ आयात गरी बिक्री गर्न थालेको हो ।
जनकपुर–६ पेढीया बजार आलुको मुख्य मन्डी भएकाले यहाँका व्यापारी हालसम्म करिब दुई करोड मूल्य बराबरको १५ हजार क्विन्टल भारतीय आलुको बीउ बिक्री गरी आर्थिक लाभ लिन सफल भएको छ । यस व्यवसायमा करिब थोक र खुद्रा गरी ७० जना व्यापारी संलग्न छन् भने करिब एकहजार मानिस यसको व्यापार गरी प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आएको छन् ।
आलुको बीउ बिक्री हुने मुख्य समय कात्तिक, मंसिर र पुस रहेकाले सो अवधिमा यहाँका व्यापारीले भारतको लखनऊ र कानपुरबाट गजरबा र लालगुलाब भन्ने उन्नत जातको आलुको बीउ आयात गरी बिक्री गर्ने गरेको जनकपुर आलु व्यवसायी सङ्घका अध्यक्ष अलाउद्दीनले बताए ।
नेपालमा आलुको बीउ उपलब्ध नहुदा यहाँका ७५ प्रतिशत किसान भारतबाट आयात भई आउने बीउमा निर्भर रहेको छ । अहिले आलु रोप्ने समय भएकाले महोत्तरीको भिट्ठामोड नाकाबाट दैनिक पाँच देखि सात ट्रक आलु जनकपुर भित्रिने गरेको छ । प्लान्ट क्वारेनटाइन चेकपोस्ट जलेश्वरको एक तथ्याङ्कअनुसार अघिल्लो आवमा २२ करोड सात लाख ३८ हजार सात ३३ टन आलु भारतबाट आयात गरी जनकपुर भित्रिएको थियो । (सौस)
प्रतिक्रिया