काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौं क्षेत्र नं २ का स्थानीय बासिन्दाले सो निर्वाचन क्षेत्र नछाड्न माग गरेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट पनि निर्वाचित भएपछि विजय र्यालीका क्रममा बुधवार साँखु आएका नेता नेपाललाई यस क्षेत्रका जनताले निर्वाचन क्षेत्र नछोड्न माग गरेका हुन् ।
नेता नेपाल रौतहट क्षेत्र नं. १ बाट पनि निर्वाचित भएका छन् । आफू निर्वाचित भएका दुई क्षेत्रमध्ये एक क्षेत्र छाड्नुपर्ने र सो क्षेत्रमा पुन: निर्वाचन हुने प्रावधन छ । त्यसैकारण सो क्षेत्रका बासिन्दाले नेता नेपाललाई सो क्षेत्र नछाड्न आग्रह गरेका हुन् । उता रौतहट क्षेत्र नम्बर १ का मतदाताले पनि सो क्षेत्र नछाड्न नेता नेपाललाई आग्रह गर्दै आएका छन् । विजय र्यालीसहित मतदातालाई धन्यवाद दिन आएका नेता नेपाललाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । सो अवसरमा नेता नेपालले यस क्षेत्रबाट आफूलाई विजय गराएको धन्यवाद दिँदै आगामी एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरे । (सौस)
प्रतिक्रिया