‘सकेसम्म सहमतीय सरकार’

Ramsharan Mahatकाठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सकेसम्म सहमतिमा सरकार निर्माण गर्ने कसरतमा आफनो पार्टी लागिपरेको बताएका छन् । यसका लागि दलहरूसँग छलफल सुरु गरिसकेको पनि जानकारी नेता महतले दिए । प्रत्यक्षतर्फ मात्र नभई जारी समानुपातिक निर्वाचनको मतगणनामा समेत पहिलो पंक्तिमा देखिएको कांग्रेसले अब सरकार गठनमा आफ्नो दाबी स्वभाविक रहने बताएको छ । पहिलो पार्टीका रूपमा रहँदा कांग्रेसले सरकार निर्माणमा आफ्नो दाबीलाई प्रस्तुत गर्दै र्कांग्रेसले अरु दलहरूसँग छलफल चलाउने भएको छ ।

पहिलो प्राथमिकता आफ्नो नेतृत्वमा सहमतीय सरकार निर्माणमा दिने र नभए संविधान बमोजिम बहुमतीय सरकारको पक्षमा कांग्रेस उभिनेछ । ‘पहिलो शक्ति हुँदा निश्चितरूपमा सरकार निर्माणमा कांग्रेसको दाबी रहन्छ, सरकार निर्माणमा सकेसम्म सहमतीय सरकारको पक्षमा छौँ, त्यो नभए संविधानत: बहुमतीय सरकार बन्छ,‘ कांग्रेस केन्द्रीय सदस्य डा. महतले बुधवार बिहान पत्रकारहरूसँग कुरा गर्दै भने । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेसले २४० निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १०५ स्थान जितेर यसपटक पहिलो शक्तिका रूपमा उभिएको छ । त्यस्तै नेकपा एमाले ९१ स्थान जितेर दोस्रो र एमाओवादी २६ स्थान जितेर तेस्रो पार्टी भएको छ । समानुपातिकतर्फ पनि कांग्रेसको अग्रता कायमै छ ।
समानुपातिकको नतिजामा पनि अग्रता लिएर पहिलो पार्टी बन्ने सुनिश्चिततातर्फ उन्मुख भएपछि कांग्रेसले सरकार गठनलगायत विषयमा नेकपा
(एमाले)लगायत अन्य दलसँग यसबारेमा छलफल चलाउने भए पनि उसले समानुपातिकतर्फको अन्तिम नतिजा पर्खेको छ । पूर्णनतिजा आएलगत्तै सरकार निर्माणको कामलाई तीव्रता दिने कांग्रेसले जनाएको छ । ‘समानुपातिकतर्फको मतगणतना पर्खेका छौँ, अहिले प्रारम्भिक रूपमा सरकार निर्माणको कुरा अघि बढाउने हो,’ डा. महतले भने । कांग्रेसले निर्वाचन, सरकार गठन र एमाओवादीले निर्वाचनको बारेमा उठाएका प्रश्नलाई लिएर पार्टीभित्र छलफल चलाउँदैछ ।
‘हामी सहमतिको पक्षमा छौँ, नेपाली कांग्रेसको नेतृत्वको पक्षमा छौँ किनकी लोकप्रिय जनादेश त्यही छ, यही जनादेशलाई सम्मान गर्नुपर्छ यसमा एमालेको पनि आपत्ति हुन्छ जस्तो मलाईं लाग्दैन,’ डा.
महतले भने ।

प्रतिक्रिया