काठमाडौं : नेपालका लागी चिनिया राजदुत बु चिन्ताईले अवको संविधानसभाले चाँडो भन्दा चाँडो संविधान बनाएको हेर्न आफु इच्छुक रहेको बताएका छन् ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सँग मंगलवार विहान भएको भेटका दौरान बुले यस्तो धारणा राखेका हुन् । उपसभापति पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै राजदुत बुले संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस् भन्ने चीनको इच्छा रहेको बताए ।
“चाँडो संविधान बनोस्, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तीव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ,” भेटमा चिनियाँ राजदूतको भनाइ उद्धृत गर्दै उपसभापति पौडेलले भने । सो अवसरमा उपसभापति पौडेलले निर्वाचनमा चीनका तर्फबाट भएको सहयोगका लागि आभार व्यक्त गर्दै राजनीतिक दलबीच सहमति जुटाएर संविधान लेखनको काम सक्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानेतर्फ अब ध्यान केन्द्रित गरिने बताएका थिए । “निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, अब हामी सहमति जुटाएर संविधान लेखनमा केन्द्रित हुन्छौँ र विकासको कामलाई पनि अघि बढाउँछौँ,” उपसभापति पौडेलले भने ।
प्रतिक्रिया