मोर्चाबन्दीका लागि नेकपाको आह्वान

खोटाङ, ११ मंसिर । मुलुक नयाँ ध्रुवीकरणमा जाने संकेतहरू देखिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी खोटाङले प्रगतिशिल शक्तिलाई एकता र सहकार्यका लागि आह्वान गरेको छ ।

पार्टीले परिवर्तनका पक्षधर शक्तिहरूलाई स्थानीय र केन्द्र स्तरमा मोर्चाबन्दी गर्नका लागि प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नियोजित रूपमा गरिएको संविधानसभाको निर्वाचन परिणामले परिवर्तन र प्रगतिको एजेन्डा लिएर अघि बढिरहेका दलहरूलाई कमजोर पारेको छ । यो घडीमा प्रगतिशिल शक्तिहरूबीच एकता र सहकार्य अनिवार्य उल्लेख गरेको छ । ‘आगामी दिनमा मुलुक नयाँ ध्रुवीकरणमा जाने प्रारम्भिक संकेतहरू देखा परेका छन्,’ पार्टीका जिल्ला अध्यक्ष श्याम राईले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई ख्याल गरेर स्थानीय र केन्द्रीय स्तरमा मोर्चा बन्दीका लागि सबै परिवर्तन पक्षधर शक्तिहरूलाई एकवद्ध बन्न नेपाल कम्यनिस्ट पार्टी आह्वान गर्दछ ।’
विज्ञाप्तिमा निर्वाचनका दौरान बिभिन्न ठाउँमा धाँधली भएको घटनाहरू सार्वजनिक भएको जनाउँदै पार्टीले यस बिषयमा निष्पक्ष छानबिनको माग गरेको उल्लेख गर्दै निर्वाचनमा स्वयं निर्वाचन आयोग र खटिएका सुरक्षाकर्मीसमेत विवादको घेरामा परेको जनाएको छ । विभिन्न बाधा, व्यवधानका बाबजुद पनि मतदान कार्यमा संलग्न भएका मतदाता, सहयोगीहरूप्रति पार्टीले आभार प्रकट गर्दै खोटाङे जनताको सरोकार राख्ने सबै खाले संघर्षमा
आफ्नो पार्टी सधैँ अग्रसर रहनेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया