“एमाओवादी निर्णय उसकै लागि अत्मघाती”

Bamdev-Gautamबर्दिया, १० मंसिर । नेकपा एमालेका उपाध्यक्ष एंव बर्दिया क्षेत्र नं. १ बाट संविधान सभा सदस्मा निर्वाचित बामदेव गौतमले संविधान सभामा सहभागि नहुने एनेकपा माओवादीको निर्णय दुखद भएको बताएका छन् ।

प्रेस चौतारी बर्दियाले आइतबार सदरमुकाम गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले एमाओवादीको निर्णय दुखद भएकाले आफूहरुले दुख मात्रै व्यक्त गर्न सक्ने बताए । उनले एमाओवादीको निर्णय उसकै लागि आत्मघाती हुने सुझाव दिदै जनमतको कदर गर्न आग्रह समेत गरे । उपाध्यक्ष गौतमले भने, ‘संविधान सभालाई बहिष्कार गर्नु भनेको जस्तै आत्महत्या हो । त्यसैले उसको (एमाओवादीको) निर्णयमा दुख व्यक्त गर्छु ।’
अहिलेको संविधान सभा निर्वाचनको परीणामबाट जातीयताको नाममा राजनीति गर्नेहरुको भविष्य समाप्त हुने निश्चित देखिएको दावी गदै उपाध्यक्ष गौतमले जातको आधारमा देश टुक्र्याउन नहुनेमा जोड दिए । उनले भने, ‘जाती जाती बीचको भिडन्त गराउन कस्सिएका सबै समाप्त भए । यसले एमालेले लिएको बहुपहिचान सहितको संघीयताको एजेण्डा विजय भयो ।’
नेकपा एमाले कुनै पनि हालतमा सरकार बनाउने र भत्काउने खेलमा नलागी संविधान निर्माणको काममा लाग्ने बताए । पत्रकारहरुको जिज्ञासामा उपाध्यक्ष गौतमले १ वर्ष भित्रमा जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिन कुनै ढिलाई नगरिने प्रतिवद्धता व्यक्त गरे । संविधान सभाको पहिलो बैठकबाटै संविधान निर्माणको प्रक्रियालाई अगाडी बढाउने बताउँदै गौतमले भने, ‘देशले कोल्टे फेर्‍यो अब मुलुकले संविधान पाउँछ ।’ उपाध्यक्ष गौतमले सकेसम्म तीन महिना भित्रमा स्थानीय निकायको निर्वाचन गराउन एमालेले चाहेको बताए ।

प्रतिक्रिया