उपकरण बिग्रिँदा अनुमानका भरमा वस्तुको परीक्षण

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयमा ल्याब परीक्षण गर्ने उपकरण बिग्रिँदा भारतबाट ल्याइने बिरुवाजन्य पदार्थ परीक्षण गर्न गाह्रो परेको छ ।
विषादी धुवाएर उपचार गर्ने फोकिङ मेसिन चार वर्षअघि ल्याउँदै बिग्रिएको अवस्थामा रहेपछि कार्यालयका प्राविधिकहरूले आँखाले हेरेरै बिरुवाजन्य पदार्थको परीक्षण गरी भित्रयाउने अनुमति दिने गरेका छन् ।
बोटबिरुवाको तापक्रम नियन्त्रण गर्ने इन्कुभेटरसमेत चलाउँदा बिग्रिएपछि सीमा नाकाबाट निकासी पैठारी हुने कृषिजन्य वस्तुको परीक्षण अनुमानका भरमा गर्नुपरेको कार्यालयका वरिष्ठ बाली विकास अधिकृत कलकबहादुर अधिकारीले बताउनुभयो । “कार्यालयमा उपलब्ध भएका उपकरणसमेत कामै नलाग्ने भएकाले ल्याब परीक्षणमा अप्ठयारो परेको छ”, उनले भने ।
ल्याबसम्बन्धी उपकरण बिग्रिएपछि विभागलाई पठाइने प्रत्येक महिनाको मासिक प्रतिवेदनमा उपकरणको व्यवस्था गरिदिन अनुरोध गरिँदै आए पनि हालसम्म सुनुवाइ हुन नसकेको उनले बताए ।
यस नाका भएर फलफूलका बोटबिरुवा, फलफूल, तरकारी र खाद्यान्नलगायतका वस्तु भित्रिने र बाहिरिने गर्दछन् । बोटबिरुवाजन्य पदार्थको प्लान्ट क्वारेन्टाइन कार्यालयले पैठारी र निकासी गर्नका लागि ल्याब परीक्षणपछि प्रमाणित गरी अनुमति दिने गरेको छ । (सौस)

प्रतिक्रिया