उदगम अञ्चलमा एमाओवादीलाई झट्का

Rapti Zoneदाङ, ९ मंसिर । ‘माओवादी’को उदगम अञ्चल राप्तीमा एमाओवादीलाई ठूलो झट्का लागेको छ । केही स्थान बाहेक एमाओवादी विजेताको निकटतम प्रतिद्वन्द्वी समेत हुन सकेन ।

संविधानसभाको पहिलो चुनावमा राप्तीका पाँच जिल्लाका १३ सिट कब्जा गरेको एमाओवादीले आफ्नो प्रभुत्व जमाउन सकेन । राप्तीमा एमाओवादी पाँच सिटमा खुम्चिएको छ । एमाओवादीले राप्तीका आठ सिट गुमाएको छ ।
एमाओवादीले सल्यानमा एक, रोल्पा र रुकुम दुई–दुई सिटमा सीमित भएको हो ।

एमाओवादीले जितेका दाङका पाँच वटै क्षेत्र यस पटक कांग्रेसले जितेको छ । सल्यानको एउटा र प्युठानका २ वटा सिट एमालेले जितेको छ ।

सल्यान–१ मा एमाओवादीका टेकबहादुर बस्नेत विजयी भएका छन् । उनले १५ हजार ८९ मत ल्याएर विजयी भएका हुन् । रोल्पा–१ मा कृष्णबहादुर महरा, २ मा ओनसरी घर्तीमगर, रुकुम–१ मा गणेशमान पुन र २ मा जनार्दन शर्मा मात्रै विजयी भएका छन् ।

त्यस्तै दाङ–१ कांग्रेसकी पार्वती डिसी, २ सुशीला चौधरी, ३ मा राजु खनाल, ४ मा बुद्धिराम भण्डारी र ५ मा दीपक गिरी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा दाङका पाँचै क्षेत्र तत्कालीन नेकपा (माओवादी)ले जितेको थियो ।

दाङका ५ निर्वाचन क्षेत्र मध्ये एमाओवादीका उम्मेदवार दाङ–२ मा मात्रै निकटतम प्रतिद्वन्द्वी रहेका थिए । अन्य उम्मेदवार पुचारबाट प्रतिष्प्रधा गरेका थिए ।

सल्यान–२ मा एमालेका प्रकाश ज्वालाले जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य डिल्लीराज रेग्मी रहेका थिए ।

प्युठान–१ मा एमालेका उपाध्यक्ष बामदेव गौतम विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का रहेका थिए । प्युठान–२ मा एमालेकै हीराबहादुर केसी विजयी भए । उनका पनि प्रतिद्वन्द्वी राजमोकै बोमबहादुर खत्री रहेका थिए ।

प्रतिक्रिया