ललितपुरमा काँग्रेसको विजय र्‍याली

ललितपुर, ९ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्लाले शनिवार तीनवटै निर्वाचन क्षेत्रको संयुक्त विजय र्‍याली निकालेको छ । जिल्ला पार्टी कार्यालय नख्खिपोटबाट सुरु भएको र्‍याली महालक्ष्मीस्थान, लगनखेल, जावलोखल, पुल्चोक, पाटन–बङ्गलामुखी, मङ्गलबजार हुँदै सुन्धारामा गएर टुङ्गिएको थियो । र्‍यालीमा काँग्रेसका नवनिर्वाचित तीनजना उम्मेदवार, नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता थियो ।

सो अवसरमा विजेता चन्द्र महर्जन, मदनबहादुर अमात्य र उदयशम्शेर राणाले आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद ज्ञापन गर्दै लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसलाई जनताले दिएको जिम्मेवारी इमान्दारीकासाथ पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काँग्रेस ललितपुरका कार्यबाहक सभापति नवराज महतले जनताले पार्टीलाई दिएको जिम्मेवारी पूरा गर्न सिङ्गो पार्टीपङ्क्ति लागिपर्नुपर्ने बताए । संविधानसभा निर्वाचन, २०७० मा ललितपुर क्षेत्र नं १ बाट उदयशम्शेर राणा, क्षेत्र नं २ बाट चन्द्र महर्जन र ३ बाट मदनबहादुर अमात्य विजयी भएका थिए । नेपाली राष्ट्रिय राजनीतिमा अहिलेसम्म नेपाली काँग्रेसले ललितपुर जिल्लामा कुनै पनि स्थानमा जीत हात पार्न सकेको थिएन् । तर यस पटक तीनै स्थानमा फराकिलो अन्तरले जीत दर्ता गराउन नेताहरु सफल भए ।

प्रतिक्रिया