विवेकपूर्ण निर्णयको खाँचो

निष्पक्ष स्वतन्त्र र धाँधालीरहीत वातावरणमा भएको चुनाव र त्यसबाट प्राप्त जनमतलाई अहिले केही दलले अस्वीकार गर्न खोज्दै छन् । नेकपा एमाओवादी र तराई केन्द्रित दलहरूले पराजित भएपछि आवेशमा आएर जनअभिमतको ख्याल नै नगरी नजिजा अस्वीकार गर्ने अभिव्यक्ति दिनु राम्रो होइन । आफू जिते ठीक र अरु जिते बेठीक भन्ने सोच लोकतन्त्रमा चल्दैन निर्वाचन प्रक्रियामा भाग लिनुभनेको जीत–हारलाई स्वाभाविक रूपमा लिन्छु भन्नु पनि हो । निर्वाचनमा भाग लिएपछि कहिले हार र कहिले जीत हुन्छ । आफूले मात्र जित्ने पद्धति तानाशाह शैलीको शासन व्यवस्थामा मात्र सम्भव हुन्छ । लोकतन्त्रमा जनमतलाई सर्वोपरी मान्ने गरिएको छ । यसमा निर्वाचनलाई माध्यम बनाएर जनताको धारणा बुझ्ने गरिन्छ । जनताले व्यक्त गरेको त्यही अभिमतअनुसार दलहरूले सत्ता सञ्चालन गर्ने हो । अघिल्लो निर्वाचनमा नेपाली जनताले एमाओवादीलाई सबैभन्दा ठूलो र मधेश केन्द्रित दललाई चौँथो स्वरूप दिएका थिए । अहिले त्यो स्वरूपमा परिवर्तन भएको छ । फेरि अर्कोपटक नेपाली जनताको धारणा बदलिन सक्छ । यसर्थ निर्वाचनमा आफूअनुकूल नजिता आएन भन्दैमा आत्तिनु आवश्यक छैन । संयमता, विवेकशीलता र दूरदर्शित नै नेताका गुणहरू हुन् । तसर्थ अहिले प्रतिकूल नतिजा आउँदैमा एमाओवादी र तराई केन्द्रित दलहरू आत्तिनु उचित होइन ।
नेपाली जनता सचेत छन् । चाहे तराईका चाहे पहाडका । अहिले नेपाली भूगोलभित्र रहेका नेपाली जनताले राजनीतिमा जातीयता र क्षेत्रीयता रूचाएनन् । त्यसैले जातीय मुद्दा उठाउने एमाओवादी र क्षेत्रीय आधारमा खुलेका पार्टीहरूप्रति जनताले विश्वास गरेनन् । जातीय, क्षेत्रीय र धार्मिक राजनीति वास्तवमा क्षणिक हुन्छ । तसर्थ नेपाली जनताले दूरदृष्टि राखेर मत अभिव्यक्त गरे यसलाई दलहरूले स्वाभाविक रूपमा लिएर भविष्यमा जनताको मन जित्ने काम गर्नु पर्छ । राजनीतिमा क्षणिक सोच राख्नु गलत हो । दूरदर्शी र विवेकशील हुन नसक्ने हो भने त्यस्ता दल नेताको राजनीतिक आयु अल्प हुन्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल साथै तराई केन्द्रित दलका नेता महन्थ ठाकुर, विजयकुमार गच्छेदार, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, सरदसिंह भण्डारीलगायत नेताले अब विवेक प्रयोग गरेर निर्णय लिने बेला आएको छ । कुनै पनि कुरा अपरिवर्तनीय हुँदैन । जनअभिमत पनि परिवर्तन भइरहन्छ । एकपटक हार्दैमा राजनीति हारिदैन र एकपटक जित्तैमा राजनीति जितिदैन । जनताले दिएको अभिमतलाई स्वीकार गर्नु नै महानता हो ।
मत गणना सुरु भएर आफूप्रतिकुल नतिजा आउन थालेपछि मत गणना प्रक्रियाबाट अलग हुने र मत पेटिका नै फेरिएको भन्दै आरोप लगाउनेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु नेतृत्वले गर्नु हुँदैन । एक दिन अघिसम्म आफै सर्वेसर्वा भएको व्यक्ति अर्को दिन मध्यरातमा हिजोसम्म भएका आफ्ना सबै कार्य गलत भएको अर्थ लगाउने गरी व्युझ्नु पक्कै पनि राम्रो होइन । चार दलीय उच्चस्तरिय राजनीति समितिमा रहेर अर्थपूर्ण निर्णय गर्ने शीर्ष नेता नै अहिले जनमतको विपक्षमा देखिएका छन् । निर्वाचनको सम्पूर्ण प्रक्रियालाई नजिकबाट हेरिरहेका र खटनपटन गरिरहेकाहरूले त्यही जनमतबाट प्राप्त नजिता अस्वीकार गर्नु भनेको बालहट प्रदर्शन गर्नु हो । सबै दल क्षेत्र, तह, तप्का र विदेशीलेसमेत निष्पक्ष, धाँधलिरहीत र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताइरहेको अवस्थामा सहभागी दल नै निर्वाचन प्रक्रिया नै गलत भएको भन्दै हिड्नु विश्वासयोग्य कुरा होइन । तसर्थ हार्दा आत्तिने र जित्ता मात्तिने कार्य गरिनु हुँदैन । दूरदर्शी र विवेकी भएर निर्णय गर्न सक्नु पर्छ । आफू र पार्टीभन्दा माथि उठेर राष्ट्र र जनताका बारेमा सोच्न सक्ने मात्र राष्ट्रको नेता हुन्छ । अन्यथा जनताले विश्वास गर्ने छैनन् । तसर्थ जनतमलाई उपेक्षा गर्न खोज्ने दलहरूले विवेकपूर्ण निर्णय गर्नुपर्छ ।

प्रतिक्रिया